काठमाडौं । वैदेशिक रोजगारीका लागि सर्बिया पठाइदिन्छु भन्दै १३ लाख ५० हजार रूपैयाँ ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उदयपुर कटारी नगरपालिका घर भई हाल ललितपुर च्यासल बस्ने ४२ वर्षीय बिकाश कुमार घले र काठमाडौंको सिनामंगल बस्ने टोकियो ओभरसिसका कार्मचारी ३९ वर्षीय संजय लामा रहेका छन् ।
सर्बिया पठाई प्रतिष्ठित होटलमा मासिक एक लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै उनीहरुले प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी उक्त रकम ठगी गरेका थिए । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले बिकाश घलेलाई काठमाडौं महाबौद्धबाट सोमबार दिउँसो र संजयलाई काठमाडौं सिनामंगलबाट आइतबार दिउँसो पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाएको जनाइएको छ ।