काठमाडौं, जेठ १२
कुमारी बैंकद्वारा पुतलीबजार नगरपालिकालाई ५९ हजारबराबरको खाद्यान्न हस्तान्तरण गरेको छ । बैकको पुतलीबजार शाखाले लकडाउका कारण समस्यामा परेकाहरूलाई सहयोग पुग्ने हेतुले खाद्यान्न हस्तान्तरण गरेको हो । बैंकले पुतलीबजार नगरपालिकालाई चामल पाँच सय किलो, दाल, एक सय किलो, तेल एक सय लिटर, नुन एक सय किलो र साबुन एक सय पिस वडा अध्यक्षहरूलगायत जनप्रतिनिधिको रोहबरमा हस्तान्तरण गरेको हो ।
बैंकले उपलब्ध गराएको खाद्यान्न नगरपालिकाभित्रका विपन्न तथा गरिब परिवारलाई प्रदान गर्ने पुतलीबजार नगरपालिकाकी नगरप्रमुख सिमाकुमारी क्षेत्रीले जानकारी दिइन् । नगरप्रमुख क्षेत्रीले कुमारी बैंकले खाद्यान्न सहयोग गरेकोमा धन्यवाद व्यक्त गरिन् । पुतलीबजार नगरपालिकाभित्र करिब पहिलो चरणमा करिब एक हजार आठ सय जना मजदुर तथा विपन्न परिवारलाई खाद्यान्न वितरण गरिएको थियो । १४ वटा वडा रहेका पुतलीबजारमा विपन्न परिवारभन्दा मजदुरी गर्ने धेरै रहेको नगरपालिका स्रोतको अनुमान रहेको छ ।
खाद्यान्न हस्तान्तरण गर्दै कुमारी बैंक पुतलीबजार शाखाका शाखा प्रबन्धक अमरमान श्रेष्ठले लकडाउन थपिँदै गएको र गरिब तथा विपन्न परिवारहरूलाई समस्या हुँदै गएकाले नगरपालिकाले वितरण गर्नेगरी खाद्यान्न प्रदान गरिएको बताए । बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब एक करोड २७ लाख १३ हजार सात सय ४८ रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक अर्ब ३२ लाख ८९ हजार एक सय ४८ रूपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी नौ अर्ब ५५ करोड ४१ लाख ३० हजार चार सय ४० रूपैयाँ रहेको बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ८५ अर्ब ५० करोड ६७ लाख नौ हजार नौ सय ९७ रूपैयाँ निक्षेप संकलन गरी ८१ अर्ब ७० करोड ५० लाख १४ हजार पाँच सय ७० रूपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा दुुई अर्ब ७५ करोड २६ लाख ८४ हजार चार सय २६ रूपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा शून्य दशमलव ९८ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले ७३ अर्ब २० करोड ११ लाख ४३ हजार सात सय ६६ रूपैयाँ निक्षेप संकलन गरी ७३ अर्ब एक करोड ७९ लाख १३ हजार ५२ रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा दुुई अर्ब २३ करोड ३० लाख ६४ हजार रूपैयाँ खुुद ब्याज आम्दानी गरेको बैंकमा एक दशमलव ४१ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।