काठमाडौं । सरकारले सहिदको संख्या थप गर्ने भनेर ‘सहिदको परिभाषा’लाई नै बदल्ने प्रयास गरेको छ । विगतमा पनि सहिदको नाम भन्दै कतिपय जिउँदा व्यक्तिलाई त कतिपय माओवादी युद्धमा लुटपाट र व्यक्ति हत्यामा संलग्नहरूलाई पनि सहिदको कोठामा पारेको भनेर विरोध भएको थियो । मंगलबारको मन्त्रिपरिषद् बैठकले थप सहिद घोषणा गर्ने निर्णय गरेको छ ।
‘नेपाल सरकार मन्त्रिपरिषद्बाट विभिन्न मितिमा सहिद घोषणा भई विवरण फरक परेका सहिदहरूको विवरण सच्याउने, नेपाल राजपत्रमा प्रकाशन हुन छुट सहिदहरूको नाम प्रकाशन गर्ने र थप सहिद घोषणा गर्ने’, मन्त्रिपरिषद्ले मंगलबार गरेको निर्णयमा उल्लेख गरिएको छ ।
यस्तै, मन्त्रिपरिषद्ले राष्ट्रिय विकास परिषद्मा नेपाल सरकारबाट मनोनयन हुने विभिन्न जिल्ला समन्वय समिति, स्थानीय तह, विभिन्न निकायका पदाधिकारी/व्यक्तिहरूमध्येबाट २५ जना सदस्यहरू मनोनयन गर्ने निर्णय पनि गरेको छ ।
साथै नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले पेस गरेको राजीनामा स्वीकृत गर्दै रिक्त अध्यक्ष पदमा नियुक्तिको लागि सिफारिस गर्न सञ्चार मन्त्रालयका सचिवको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको छ । खनालको राजीनामा स्वीकृतपछि रिक्त पदमा दूरसञ्चार नियमावलीको नियम ३ ‘क’ बमोजिम प्राधिकरणका सदस्य नवराज अधिकारीलाई अर्को व्यवस्था नभएसम्मका लागि कार्यवाहक अध्यक्ष तोकिएको छ ।