काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकमा विद्यमान व्यापारघाटा कम गर्न निर्यात सहजीकरण हुनुपर्ने बताएका छन् । झापा चेम्बर अफ कमर्सको छैठौँ वार्षिक साधारणसभामा अध्यक्ष मल्लले विद्यमान व्यापारघाटा कम गर्नका लागि कृषि एवम् खानीजन्य वस्तुहरूको पहिचान एवम् प्रवर्द्धनसँगै निर्यात सहजीकरण हुनुपर्नेमा जोड दिएका हुन् ।
चालू आर्थिक वर्षको पाँच महिनामा नै व्यापारघाटा पाँच खर्ब ९७ अर्ब रुपैयाँ नाघेको भन्दै अध्यक्ष मल्लले प्रत्येक वर्ष मुलुकको व्यापारघाटा बजेटकै हाराहारीमा हुन थालेको बताए । उनले भने, ‘आर्थिक समृद्धि र विकासको बाधक मुलुकको चरम व्यापारघाटा पनि हो, आन्तरिक उत्पादन नहुँदा कृषिजन्य वस्तुहरूमा समेत परनिर्भरता बढ्दो क्रममा छ, सम्भावना भएका क्षेत्रहरूको पहिचान गरी निर्यात सहजीकरण गरिनुपर्छ ।’ निर्यात वृद्धि गरेर व्यापारघाटा कम गर्ने हो भने कृषि, खानी, जलविद्युत्, पर्यटन र सूचना प्रविधियुक्त क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर नीति योजना बनाउनुपर्नेमा अध्यक्ष मल्लले जोड दिए ।
निर्यातयोग्य वस्तुहरूको पहिचान र प्रवद्र्धनसम्बन्धी ठोस नीतिगत व्यवस्थाका लागि चेम्बरले पनि पहल गरिरहेको उनले बताए । सरकारले निर्यात वृद्धिका लागि विभिन्न नीति अघि सारे पनि व्यावहारिक परिणाम आउन नसकेको उनको भनाइ थियो । झापा, इलाम, तेह्रथुमलगायतका जिल्लामा चिया, अलैंचीलगायतका वस्तुहरू निर्यात गरेर अर्बौँ रुपैयाँ भित्र्याउन सकिने उनले बताए । यसैबीच झापा चेम्बरको छैठौँ साधारणसभाले ओमकृष्ण विमलीलाई अध्यक्षमा दोस्रो कार्यकालका लागि निर्वाचित गरेको छ ।