पोखरा । नेपाली कांग्रेस कास्की र पोखरा महानगर समितिले पोखरा महानगरपालिकाभित्र बढाइएको राजस्व तत्काल घटाउन माग गरेको छ । जिल्ला सभापति किशोरदत्त बराल र महानगर सभापति सुरेन्द्रमान बिजुक्छेले बुधबार संयुक्त विज्ञप्ति जारी गरी यस्तो माग गरेका हुन् ।
महानगरपालिका पोखरेली जनताको अभिभावकीय संस्था भएकाले जनताको हितमा काम गर्नुपर्नेतर्फ ध्यानाकर्षण गराइएकोे छ । ‘आर्थिक वर्ष ०८०/८१ का लागि बढाइएको राजस्व वृद्धि जनताको हितमा नभएकाले राजस्व वृद्धिमा पुनःविचार गर्न आवश्यक देखिएको छ’, विज्ञप्तिमा भनिएको छ । नेपाली कांग्रेस, कास्की र नेपाली कांग्रेस पोखरा महानगर समितिको तर्फबाट २०८० साउन २८ मा संयुक्त प्रेस विज्ञप्तिमार्फत अनुरोध गर्दा समेत पोखरा महानगरपालिकाले आजसम्म पनि आवश्यक निर्णय नगरेको भन्दै पुनः ध्यानाकर्षण गराउनुपरेको विज्ञप्तिमा उल्लेख छ । पोखरा महानगरपालिकाको आगामी कार्यपालिका बैठक तथा नगरसभामा यस सम्बन्धमा गम्भीर अध्ययन, छलफल र बहस गरी अनावश्यकरूपमा विभिन्न शीर्षकमा वृद्धि गरिएको राजस्व घटाएर जनताको पक्षमा निर्णय गर्न अनुरोध गरिएकोे छ ।
पार्टीको अनुरोधलाई बेवास्ता गरिएमा नेपाली कांग्रेस जनताको पक्षमा जस्तोसुकै दबाबमूलक कार्यक्रम सञ्चालन गर्न तयार रहेको स्पष्ट पारिएको छ । पोखरामा काँग्रेसबाट निर्वाचित भएका वडाध्यक्षले पनि राजस्व घटाउन माग गर्दै मंगलबार बोलाइएको कार्यपालिका बैठक बहिष्कार गरेका थिए ।