काठमाडौं । लिवर्टी इनर्जी कम्पनी लिमिटेडको १४ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष डा. आत्माराम घिमिरेको सभापतित्वमा बुधबार सम्पन्न सभाले कम्पनीको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण पारित गरेको छ ।
यस्तै, सभाले अन्य कम्पनीलाई प्राप्ति तथा मर्जरको प्रक्रिया अघि बढाउन अख्तियारी पनि दिएको छ । कम्पनीको कुल जारी पुँजी एक अर्ब ५० करोडमध्ये एक अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको संस्थापक सेयर र बाँकी ३७ करोड ५० लाख रुपैयाँ बराबरको आयोजना प्रभावित स्थानीय तथा सर्वसाधारणको साधारण सेयर रहेको छ । हाल सम्पूर्ण सेयरहरू लक–इन खुला भएसँगै कारोबार भइरहेको कम्पनीले जनाएको छ । कम्पनीको अघिल्लो साधारणसभाले हालको चुक्ता पुँजीको ५० प्रतिशतका दरले हुन आउने रकम ७५ करोड रुपैयाँ बराबरको हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित भएको थियो । सोबमोजिम उक्त हकप्रद सेयर निष्काशनको अन्तिम स्विकृतिको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिई प्रक्रियामा रहेको पनि कम्पनीले जनाएको छ ।
हाल यस कम्पनीसँग तीन वटा जलविद्युत् आयोजनाको स्वामित्व रहेका छन् । लमजुङ जिल्लास्थित २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजना निर्माण सम्पन्न भई गत २०७९ मंसिर १७ गतेबाट व्यापारिक उत्पादन समेत गरिरहेको छ । साथै, कम्पनीको स्वामित्वमा रहेका अन्य आयोजनाहरूमा १.६ मेवा क्षमताको लोदो खोला साना जलविद्युत् आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता भएको भने २४.६ मेवा क्षमताको बडिगाड खोला जलविद्युत् आयोजनाको समेत कनेक्सन एग्रिमेन्ट सम्पन्न भई विद्युत् उत्पादनको अनुमतिपत्र प्राप्त गरी विद्युत् खरिद बिक्री सम्झौता हुने क्रममा रहेको कम्पनीका अध्यक्ष डा आत्माराम घिमिरेले जानकारी दिए ।