भजनी (कैलाली) । देशको पहिचानलाई जोगाउन समाजका सबै वर्ग लाग्नुपर्ने नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बताएका छन् । बिहीबार कैलालीको टीकापुरमा सुरु भएको नागरिक उन्मुक्ति पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा उनले देशको पहिचान जोगाउन सबैले लाग्नुपर्ने बताएका हुन् ।
पूर्वप्रधानमन्त्री नेपालले भने, “हामीले जात, धर्मको नाममा पहिचान खोज्नुभन्दा सिङ्गो देशको पहिचानलाई समेट्दै देशको समृद्धिका निम्ति लाग्नु अहिलेको आवश्यकता हो ।”
अध्यक्ष नेपालले देशको वर्तमान व्यवस्थालाई कसैले फेरबदल गर्न नसक्ने बताउँदै गणतन्त्रका विरुद्धमा केही संयन्त्र लागेका उनले बताए । नेपालले विगतमा अधिकारका लागि भएका अप्रिय घटनाले ठूलो क्षति पुर्याएको बताउँदै आगामी दिनमा त्यस्ता घटना हुन नदिनेतर्फ सबै सचेत हुनुपर्नेमा जोड दिए ।