पोखरा । २३औँ संस्करणको ‘आहा रारा पोखरा गोल्डकपमा सहारा क्लबसहित १२ टिमले प्रतिस्पर्धा गर्ने भएका छन् । जसमा दुई विदेशी टिम छन् । पारो फुटबल क्लब भुटान र दिल्ली फुटबल क्लब भारत यस पटक सहभागी हुने सहारा क्लबले जनाएको छ । क्लबका अनुसार पारो भुटानको लिग विजेता हो भने दिल्ली इण्डियन लिगको सातौँ स्थानमा रहेको क्लब हो ।
साथै, प्रतियोगितामा नेपाल प्रहरी फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, मछिन्द्र क्लब, जावलाखेल युथ क्लब, राईजिङ्ग स्टार फुटबल क्लब नवलपुर, संकटा क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, थ्री स्टार क्लब, सहारा क्लब पोखरा, मनाङ मस्र्यायाङ्दी क्लब, जाउलाखेल युथ क्लब र संकटा क्लब सहभागी हुने आयोजक सहारा क्लबका महासचिव रामजी प्रसाद अधिकारीले जानकारी दिए । गत वर्षको आहारारा गोल्डकप संकटा क्लबले जितेको थियो ।
प्रतियोगिता माघ ९ देखि २० गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुनेछ । प्रतियोगिताको तयारी तीव्ररुपमा अघि बढेको क्लबका अध्यक्ष केशवराज बरालले जानकारी दिए ।
प्रतियोगिताबाट एक करोड ८६ लाख ७५ हजार आम्दानी र एक करोड ४९ लाख तीन हजार रुपैयाँ खर्च गर्ने सहाराको लक्ष्य छ । बचत रकम सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिनेछ । एकेडेमीमा आठ जिल्लाका १४ जना बालकहरु आवासीयरुपमा आवद्ध छन् ।
पोखरालाई स्पोट्र्स हब सिटीको रुपमा विकास गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउनुका साथै पोखरालाई अन्तर्राष्ट्रिय रुपमा परिचित गराउनु प्रतियोगिताको उद्देश्य रहेको महासचिव अधिकारीले बताए । प्रतियोगिता नवप्रतिभावान फुटबल खेलाडीलाई अन्तर्निहीत खेल कौशल प्रदर्शन गर्ने उचित अवसर भएको उनले स्पष्ट पारे ।