काठमाडौं । नेपाल राष्ट्र बैंकले यही पुस २९ गते अर्थात् आगामी आइतबार १५ अर्ब ७० करोड रुपैयाँको ट्रेजरी बिक्री गर्ने भएको छ । सो दिन अपराह्न दुई बजेसम्म बोलकबोलमार्फत उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागेको केन्द्रीय बैंकले जनाएको छ । यसअघि पुस २३ गते पनि राष्ट्र बैंकले १७ अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री गरेको थियो ।
माघ दुई गते मंगलबार जारी मिति तोकिएको ट्रेजरी बिल खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले भाग लिन पाउनेछन् । सो दिन २८ दिन अवधिको आठ अर्ब रुपैयाँ र ९१ दिन अवधिको सात अर्ब ७० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री हुनेछ । २८ दिन अवधिको ट्रेजरी बिल २०८० फागुन एक गते र ९१ दिन अवधिको ट्रेजरी बिल २०८१ वैशाख चार गते परिपक्व हुनेछ ।
राष्ट्र बैंकका अनुसार सो दिन बिक्री हुने सबै ट्रेजरी बिल पुरानो नवीकरणअन्तर्गत रहेको छ । गत साता पनि राष्ट्र बैंकले ९१ दिन अवधिको आठ अर्ब र एक सय ८२ दिन अवधिको नौ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।
यसैबीच राष्ट्र बैंकले वित्तीय प्रणालीमा देखिएको अधिक तरलता नियन्त्रण गर्न बिहीबार २० अर्ब रुपैयाँ वित्तीय प्रणालीबाट तानेको छ । केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण बिक्री गरी सो पैसा तानेको हो । सात दिनको अवधि तोकेर राष्ट्र बैंकले बोलकबोलको माध्यमद्वारा २० अर्ब रुपैयाँ बराबरको मौद्रिक उपकरण बिक्री गरेको हो । बिहीबार निष्काशन भएको निक्षेप संकलन उपकरणको सावाँब्याज भुक्तानी माघ ४ गते हुनेछ । खरिदकर्ताको लागि घटीमा १० करोड रुपैयाँ र बढीमा पाँच करोडले भाग गर्दा निःशेष भाग जाने गरी कुुल आह्वान रकमसम्म खरिद गर्न सक्नेगरी सीमा तोकिएको थियो । राष्ट्र बैंकका अनुसार यसरी खरिद गरिएको निक्षेप संकलन उपकरण राष्ट्र बैंकबाहेकका बैंक तथा वित्तीय संस्थाहरूमा धितोको रूपमा पनि प्रयोग गर्न सकिनेछ ।