आशिष बहादुर सिंह
बझाड., जेठ १३
कोरोना भाइरसका कारण विद्यालयहरु बन्द भएपछि कलिला नानीबाबुका हातमा किताबकापी खेलाउने बेला माछा मार्न खोली बगर जानुपरेको छ । विश्वलाई नै आर्थिक भौतिक तथा शैक्षिक संस्थामा पारेको प्रभावले कलिला बालबालिकाको पढाइमा पनि निकै असर पारेको देखिन्छ । सुगमका बालबालिकाको भन्दा दुर्गमका बालबालिकाको दैनिकी निकै फरक ढङ्गले बितेको नागरिक समाजका अगुवा धर्मजङ सिंह बताउँछन् । सुगम तथा सहरका बालबालिका अनलाइन कक्षा मार्फत शिक्षकसंग पढाइको बारे छलफल गरी घरभित्रै अभिभावकसँग बसी पढाइको अभ्यास गरिरहेका छन् तर विकट जिल्लाका बालबालिकको लकडाउन भने मेलापात र माछा मार्नमा नै बितेको छ ।
फोन समेत नलाग्ने ठाउँका बालबालिकालाई अनलाइन कक्षा भनेको आकाशको ताराजस्तै हो । विद्यार्थी सुबेर सिंहले भने, ‘विद्यालय बन्द भएको दुई महिनाभन्दा बढी भयो । हामीले परीक्षा दिन पाएका पनि छैन । पढेको कुरा पनि याद छैन, अब परीक्षामा के लेख्ने हो ? चिन्ता लाग्छ ।’ उनीजस्तै बालक अरुण रोकायाले पनि दुई कक्षाको परीक्षा दिएका थिए । उनको पनि नतिजा आएको छैन । ‘नतिजा कस्तो आउने हो अनि कुन किताब पढ्ने हो भनेर थाहा छैन’, उनले भने, ‘त्यसैले कहिले घर आँगनमै साथीहरुसँग खेल्छौँ, कहिले खोलातिर नुहाउन, माछा मार्न जान्छौँ ।’
शैक्षिक सत्र सुरु भई अहिलेसम्म विद्यालयमा पढाइ सुरु गर्ने बेला भइसक्यो तर यस वर्ष कोरोनाका कारण सम्पूर्ण देश नै अस्तव्यस्त बनेको छ । एसईई, प्लस टु तथा विश्वविद्यालय तहको परीक्षा पनि हुनसकेको छैन । परीक्षा भएका विद्यार्थीहरुको पनि नतिजा प्रकाशन हुनसकेको छैन । शिक्षण संस्था बन्द हुँदा ग्रामीण भेगतिरका बालबालिकाको पढाइ निकै कमजोर हुने शिक्षक ऐन बहादुर सिंहले बताए । बझाङका १२ वटा स्थानीय तहमध्ये कुनै पनि स्थानीय तहले बालबालिकाको पढाइबारे कसैको पनि चिन्ता र चासो छैन । स्थानीय सरकारका जनप्रतिनिधिले समयमा शैक्षिक संस्थाबारे केही पहल नगरे बालबालिकाको भविष्यमाथि खेलबाड हुने जिल्लाका जानकार बताउँछन् । स्थानीय सरकारले बालबालिकाबारे सोचेर पहुँचमा भएका ठाउँमा अनलाइनबाट पढाइ गर्नुपर्ने र पहुँच नभएका ठाउँमा कुनै रेडियोबाट पनि सिकाउने प्रयासको थालनी गरिनुपर्ने स्थानीय समाजसेवी एवम् पूर्वशिक्षक लालबहादुर खड्काले बताए ।