काठमाडौं । इन्टेग्रिटी आइकन नेपाल २०२३ बाट यस वर्षको पाँच जना राष्ट्रसेवक कर्मचारी सम्मानित भएका छन् । उनीहरूलाई एक विशेष कार्यक्रमको आयोजना गरी सम्मान गरिएको हो ।
सम्मानित हुनेमा महिला तथा बालबालिका विभागका उपसचिव, नीरा अधिकारी, जिल्ला प्रशासन कार्यालय, झापाका प्रशासकीय अधिकृत, प्रतीक राई, मनमैजु माध्यामिक विद्यालय, तारकेश्वर, काठमाडौंका प्रधानाध्यापक, रिबना महर्जन, शितोष्ण बागवानी विकास केन्द्र, मार्फा मुस्ताङका बागवानी विकास अधिकृत, पद्मनाथ आत्रेय र नारायणी अस्पताल, वीरगञ्जका अस्पताल नर्सिङ निरीक्षक, हेमा थापा रहेका छन् । दुई सय ५० जनाको प्रत्यक्ष सहभागिता रहेको कार्यक्रमको सामाजिक सञ्जालबाट गरिएको प्रत्यक्ष प्रसारण १० हजारभन्दा बढी व्यक्तिले हेरेका थिए ।
पाँच जना आइकन सार्वजनिक भइसकेपछि उनीहरूलाई चिनाउन र यस अभियानमा आमनागरिकलाई सहभागी गराउन सामाजिक सञ्जालहरूबाट विभिन्न अभियानहरू सञ्चालन गर्नुका साथै जिल्लास्थित सञ्जाल पनि परिचालन गरिएको थियो । सेवाग्राहीको सुझावको आधारमा पाँचै जनालाई छुट्टाछुट्टै टाइटलबाट अवार्ड गरिएको थियो ।