काठमाडौँ जेठ १३
नेपाल बंगालादेश बैंकले सरकारी राहत कोषमा रकम सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कोरोना रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकारलाई एक करोड ४५ लाख रूपैयाँ सहयोग गरेको हो । बैंकले केन्द्रीय सरकार र संघीय प्रदेश सरकारको ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा उक्त सहयोग गरेको बैंकले जानकारी दिएको छ ।
बैंकका अनुसार नेपाल सरकारको कोषमा एक करोड १० लाख रूपैयाँ र देशका सातैवटा प्रदेशका प्रदेश सरकारको उक्त कोषमा पाँच, पाँच लाखको दरमा सहयोग गरेको हो । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रभूषण श्रेष्ठले उक्त चेक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद बिडारीलाई हस्तान्तरण गरेका हुन् । बैकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब १४ करोड १० लाख ३३ हजार एक सय २० रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक अर्ब छ करोड ६० लाख १० हजार रूपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी आठ अर्ब ४५ करोड ५८ लाख १४ हजार रूपैयाँ रहेको बैकले चालु आवको तेस्रो त्रैमासिक अवधिमा ५३ अर्ब ३१ करोड ४९ लाख ४७ हजार रूपैयाँ निक्षेप संकलन गरी ५२ अर्ब चार करोड चार लाख रूपैयाँ कर्जा प्रवाह गरेको छ भने निष्क्रिय कर्जाको अनुपात दुुई दशमलव ७६ प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा भने बैंकले ५५ अर्ब ७६ करोड ४३ लाख रूपैयाँ निक्षेप संंकलन गरी ५२ अर्ब ५३ करोड ९२ लाख रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा बैंकमा एक दशमलव ८६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।