नेपालले आगामी असार (जुलाई) महिनाभित्र दिगो विकाससम्बन्धी ‘राष्ट्रिय स्वेच्छिक समीक्षा’ (भोलन्टरी नेसनल रिभ्यु–भीएनआर) प्रतिवेदन तयार पारी संयुक्त राष्ट्र संघ (युएन)अन्तर्गतको उच्चस्तरीय राजनीतिक मञ्चको बैठकमा प्रस्तुत गर्ने भएको छ ।राष्ट्रिय योजना आयोगले मंगलबार काठमाडौंमा राष्ट्रिय स्वेच्छिक समीक्षा कार्यशालामा आयोजना गर्दै विभिन्न क्षेत्रबाट सुझाव समेत लिएको छ । दिगो विकास लक्ष्यका सम्बन्धमा नेपालले सन् २०२३ सम्ममा हासिल गरेका उपलब्धिको समीक्षा र अबको कार्यदिशाबारे राय–सुझाव लिएको हो । यसअघि नेपालले पहिलोपटक सन् २०१७ र दोस्रोपटक सन् २०२० मा समीक्षा गरेको थियो । अबको छ महिनाभित्र तेस्रोपटक समीक्षा गरिने आयोगले जनाएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले दिगो विकास लक्ष्य प्राप्तिमा नेपालले गरिरहेको काम र नतिजाको समीक्षा, अरू देशका राम्रा अभ्यास, विभिन्न निकाय तथा सरोकारवालासँग समन्वय तथा सहाकार्य र राय सुझाव लिनका लागि कार्यशाला आयोजना गरिएको बताए ।
दिगो विकास लक्ष्य प्राप्तिका लागि नेपाल पूर्णरूपमा प्रतिबद्ध रहेको र निर्धारित लक्ष्य प्राप्त गर्न सङ्घ, प्रदेश र स्थानीय तह गरी तीनवटै तहका सरकारले भूमिका निभाइरहेको उनको भनाइ छ । ‘दिगो विकास लक्ष्यको स्थानीयकरण भएको छ । आवधिक योजना, मध्यमकालीन खर्च संरचना तथा वार्षिक नीति तथा कार्यक्रम र बजेटले दिगो विकास लक्ष्यसम्बन्धी विषयलाई प्राथमिकताका साथ समेटेका छन्’, उनले भने, ‘दिगो विकास लक्ष्य प्राप्तिसँग जोडिएका योजना तथा कार्यक्रमको अनुगमन तथा मूल्याङ्नको काम प्रभावकारी ढङ्गले भएको छ ।’
आगामी आर्थिक वर्ष २०८१÷८२ बाट लागू हुने गरी तयार भइरहेको सोह्राँै पञ्चवर्षीय आवधिक योजनाले पनि अतिकम विकसित मुलुकबाट स्तरोन्नति र सन् २०३० सम्ममा दिगो विकास लक्ष्य पूरा गर्ने लक्ष्यसहित कार्ययोजनासहित मस्यौदा तयार भइरहेको श्रेष्ठले बताए । दिगो विकाससम्बन्धी तेस्रो राष्ट्रिय स्वेच्छिक समीक्षा तयार गर्नका लागि राष्ट्रिय योजना आयोगको उपाध्यक्षको संयोजकत्वमा रहेको दिगो विकास कार्यान्वयन तथा अनुगमन समितिले काम गरिरहेको छ ।
कार्यक्रममा संयुक्त राष्ट्र संघको नेपालका लागि आवासीय संयोजक हाना सिङ्गर हाम्डीले दिगो विकास लक्ष्य प्राप्तिका लागि नेपालले गरिरहेका कामको प्रशंसा गरिन् । साथै, थप प्रगतिमूलक नतिजाका लागि प्रयास गर्नुपर्ने बताइन् । ‘दिगो विकास लक्ष्य प्राप्तिमा विश्वका अरू केही देशको तुलनामा नेपालको प्रगतिको अवस्था राम्रो छ । तर तोकिएको समयभित्रै दिगो विकास लक्ष्य प्राप्त गर्नका लागि हामी सबै पक्ष र क्षेत्र मिलेर थप प्रयास गर्न जरुरी छ’, उनले भनिन् । अतिकम विकसित मुलुकको अध्यक्ष राष्ट्र भएका हैसियतले नेपाले दिगो विकास लक्ष्य र स्तरोन्नतिका काममा थप जिम्मेवार भएर लाग्नुपर्नेमा उनको जोड छ । सन् २०१५ मा संयुक्त राष्ट्र सङ्घका सबै सदस्य देशले दिगो विकास लक्ष्य (२०१६–२०३०) अनुमोदनका साथै कार्यान्वयन सुरु गरेका थिए । नेपालले पनि ‘नेपालका निम्ति दिगो विकास लक्ष्य २०१६–३० मार्गचित्र’ तयार गरी कार्यान्वयन गरेको छ । सन् २०२२ मा दिगो विकास लक्ष्य प्राप्तिको समीक्षा गरी वर्तमान अवस्था र भावी मार्गचित्र समेत निर्धारण गरेको छ । राष्ट्रिय योजना आयोगको पछिल्लो तथ्याङ्अनुसार दिगो विकास लक्ष्य प्राप्तिमा नेपालले हालसम्म करिब ४३ प्रतिशत प्रगति हासिल गरिसकेको छ । एसिया प्यासिफिक क्षेत्रका लागि संयुक्त राष्ट्र सङ्घीय आर्थिक तथा सामाजिक आयोगको समन्वयमा कार्यशाला आयोजना भएको आयोगले जनाएको छ । कार्यशालामा सबै विषयगत मन्त्रालयका प्रतिनिधि, नेपाल राष्ट्र बैंक, सबै प्रदेशका नीति तथा योजना आयोग, गाउँपालिका राष्ट्रिय महासङ्घ, नेपाल नगरपालिका सङ्घ, निजी क्षेत्र, सरकारी तथा गैरसरकारी सङ्घ संस्थाका प्रतिनिधि, सहकारी क्षेत्रलगायतको सहभागिता रहेको थियो ।