कृषिसम्बन्धी बृहत् अन्तर्राष्ट्रिय प्रदर्शनी ‘छैठौें नेपाल एग्रिटेक इन्टरनेसनल एक्स्पो’ हुने भएको छ । कृषि क्षेत्रको समस्त विकास गर्ने उद्देश्यले माघ १२ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा एक्स्पो आयोजना गर्न लागिएको हो ।प्रदर्शनीमा स्वदेशी तथा विदेशी कृषिसम्बन्धी कम्पनीहरूका एक सयभन्दा बढी स्टलहरू रहने छन् । मिडिया स्पेस सोलुसन, फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट र प्रदर्शनी र व्यापार सेवा भारतको संयुक्त आयोजनामा हुने प्रदर्शनीको कृषि तथा पशुपन्छी विकासमन्त्री बेदुराम भुसाल उद्घाटन गर्नेछन् । उक्त प्रदर्शनीमा कृषिका विभिन्न विधाहरू कुखुरापालन, माछापालन, बाख्रापालन, गाई भैँसीपालन, डेरीलगायत कृषिका नवीनतम् औजार, उपकरण, केराखेती, थोपा सिँचाइ, विषादीरहित कृषि इत्यादिका बारेमा जानकारी प्राप्त गर्न सकिने छ । प्रदर्शनीमा देशभरिबाट उद्यमी अनुसन्धानकर्ता, विद्यार्थी, संघ संस्थाका प्रतिनिधिलगायत आम कृषकहरूले आधुनिक प्रविधिहरूको अनुशरण गर्ने र जिज्ञासा मेटाउने अवसर पाउने आयोजकको भनाइ छ ।
साथै, प्रदर्शनीमा कृषकहरूका समस्यालाई समाधान गर्ने उद्देश्यले कृषिका विभिन्न विषयमा स्वदेशी विज्ञहरूद्वारा सेमिनार आयोजना हुनेछ । यस्तै, कृषकहरूलाई कृषि प्रविधि, कृषिका विभिन्न विधाहरूको बारेमा जानकारी गराउने कार्यक्रम समेत रहेको छ । निःशुल्क प्रवेशको व्यवस्था गरिएको उक्त प्रदर्शनीमा कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पु¥याउने साना साना औजार, मेसिनदेखि लिएर डेरी मेसिनरी तथा पशुपंक्षीपालन उद्योगमा प्रयोग हुने उपकरणहरूको प्रदर्शनी गरिने बताइएको छ । नेपालको कृषि क्षेत्रको यान्त्रीकरणमा सहयोग पु¥याउन यो प्रदर्शनी कोशेढुंगा सावित हुने आयोजकको दाबी छ । प्रदर्शनीबाट नेपालको कृषि क्षेत्रलाई उपयुक्त हुने नवीनतम् प्रविधि तथा सेवाहरूको पहिचान गर्न मद्दत मिल्ने र तीनको प्रयोगद्वारा कृषि उत्पादन वृद्धि भई मुलुकलाई कृषि उपजमा आत्मनिर्भर बन्न टेवा पुग्ने आयोजकको विश्वास छ ।