रुकुम । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१० झ्याङका सुन्तला किसान झुपलाल खड्का गत वर्षको भन्दा दोब्बर मूल्यमा गाउँबाटै सुन्तला बिक्री गर्न पाउँदा दङ्ग छन् । अघिल्लो वर्ष प्रतिकेजी २५ रुपैयाँका दरले सुन्तला बिक्री भएकामा यसवर्ष प्रतिकेजी ५२ रुपैयाँमा सुन्तला बिक्री हुँदा आफू निकै खुशी भएको उनले बताए ।
‘बारीबाट नौ क्विन्टल सुन्तला बिक्री भयो, सानो दानालाई प्रतिकिलो ३० र ठूलो दानालाई प्रतिकिलो ५२ रुपैयाँका दरले सुन्तला बिक्री हुँदा खुशी लागेको छ । गत वर्ष २५ रुपैयाँका दरले सुन्तला बिक्री गर्दा खर्चसमेत उठाउन मुस्किल भएको थियो । यस वर्ष दोब्बर मूल्यमा सुन्तला बिक्री हुँदा निकै खुशी छु’, खड्काले भने ।
सुन्तला बिक्रीबाट ५३ हजार रुपैयाँ आम्दानी भएको र बिक्री गर्न अझै केही सुन्तला बाँकी रहेको उनले बताए । हाल खड्काको बारीमा एक सय बोटले फल दिन थालेको छ । सुन्तला राम्रो उत्पादन हुने भएकाले एक सय बोट थप गर्ने सोचमा खड्का छन् ।
वडा कार्यालयको समन्वयमा गाउँबाटै सुन्तला बिक्री हुँदा अर्का सुन्तला किसान एक्कबहादुर खड्काले पनि निकै खुशी लागेको बताए । अघिल्लो सालको भन्दा दोब्बर आम्दानी हुनाका साथै बारीबाटै ८३ हजार रुपैयाँको सुन्तला बिक्री गरिएको उनको भनाइ थियो । गत वर्षको तुलनामा यस वर्ष उत्पादन र मूल्य दुबै वृद्धि भएकाले किसानले राम्रो मूल्य पाएको रुकुम पश्चिमस्थित कृषि विकास कार्यालयले जनाएको छ ।
जिल्लामा यसवर्ष एक हजार एक सय ५० मेट्रिक टन सुन्तला उत्पादन गरेर किसानले चार करोड ६० लाख रुपैयाँ आम्दानी गरेको उक्त कार्यालयका निमित्त प्रमुख मीनबहादुर केसीले जानकारी दिए । उनका अनुसार गत वर्ष प्रतिकेजी २५ देखि ३० रुपैयाँसम्ममा सुन्तला बिक्री भएकामा यस वर्ष प्रतिकेजी ४० देखि ६० रुपैयाँसम्ममा बिक्री गरेका छन् । जिल्लामा विशेषगरी त्रिवेणी गाउँपालिकामा सुन्तला राम्रो उत्पादन हुने गरेको छ ।
त्यस्तै, अन्य पालिका मुसिकोट, आठबीसकोट र चौरजहारी नगरपालिका तथा सानीभेरी र बाफीकोट गाउँपालिकामा केही मात्रामा सुन्तला उत्पादन हुने गरेको निमित्त प्रमुख केसीले जानकारी दिए । थोरै उत्पादन गर्ने किसानका लागि सुन्तला बिक्रीमा केही समस्या भए पनि पकेट क्षेत्रका किसान तथा व्यवसायिकरूपमा सुन्तला खेती गर्ने किसानलाई बजारको समस्या नरहेको उनको भनाइ थियो ।
सुन्तला खरिद गर्न किसानको बारीमै व्यापारी पुग्ने गरेका छन् । जिल्लामा उत्पादन भएको सुन्तला दाङ, सल्यान र नेपालगञ्जसम्म जाने गरेको छ । थोरै सुन्तला उत्पादन गर्ने किसानलाई भने डोकामा बोकेर बजारसम्म लगेर बिक्री गर्नुपर्ने बाध्यता छ । राससले जनाएनुसार जिल्लामा व्यावसायिक रूपले सुन्तला खेती गर्ने किसानले वार्षिक आठ लाखदेखि नौ लाख रुपैयाँसम्म आम्दानी गरेका छन् ।
व्यावसायिक रूपले सुन्तला खेती गर्ने किसानको सङ्ख्या आठ-दश जना मात्र भएपनि सुन्तला उत्पादनमा जोडिएका किसानको सङ्ख्या भने जिल्लामा दुई सयभन्दा बढी रहेको निमित्त प्रमुख केसीले जानकारी दिए । ‘कृषि पेसाबाट किसानको आयस्तर बढेको छ । हरेक कृषि बालीमा व्यावसायिकीकरण हुँदै गएको छ । कृषि विकास कार्यालयले अनुदानभन्दा पनि किसानलाई बिक्री परिमाणका आधारमा प्रोत्साहन रकम उपलब्ध गराउँदै आएको छ । यसले गर्दा परिश्रम गर्ने किसानलाई थप उत्पादन गर्न हौसला मिलेको छ’, उनले भने ।