काठमाडौँ । राष्ट्रिय मुक्ति क्रान्ति नामको आन्दोलनको तयारीका लागि छलफल गर्न भारतको दिल्ली पुगेका लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता राजेन्द्र महतो भारत भ्रमणबाट फर्केपछि मधेस आन्दोलनको तयारीमा जुटेका छन् । भारतीय जनता पार्टीका उच्चस्तरीय नेता, गृहमन्त्री, रक्षा मन्त्रीलगायतसँग भेटगरी उनी नेपाल फर्किएका हुन् ।
लोसपाबाट विद्रोह गरेपछि माघ ५ गते नै उनी मधेसमा एउटा अभियानको सुरुवात गर्ने तयारीमा जुटेका थिए । आन्दोलनलाई कसरी अगाडि बढाउने, कसरी सुरुवात गर्ने भन्ने तयारीमा अहिले उनी जुटेका छन् । माघ महिनाभित्रै आन्दोलन सुरु हुने महतो निकट एक नेताकाले जानकारी दिएका छन् ।
लोसपाका अध्यक्ष महन्थ ठाकुरले बनाएको केन्द्रीय समितिको बैठक बहिष्कार गरी पार्टीमा विद्रोह गरेपछि महतो न पार्टी कार्यालय गएका छन्, न महन्थ ठाकुरको सम्पर्कमा नै छन् । उनले लगभग लोसपामा नबस्ने निश्चित नै गरिसकेका छन् ।