काठमाडौं । कार्यवाहक प्रधानमन्त्री तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले सैनिक कल्याणकारी कोषद्वारा सञ्चालित नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानको भ्रमण गरेका छन् । सानो भर्याङ्गस्थित उक्त संस्थानमा मन्त्री खड्कालाई प्रधान सेनापति महारथी प्रभुराम शर्माले स्वागत गरेका थिए ।
सो अवसरमा मन्त्री खड्कालाई नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानका कार्यकारी निर्देशक, प्रा.उपरथी प्रा.डा.देवेन्द्र बहादुर खत्री(अ.प्रा.)ले उक्त संस्थान तथा मातहतका महाविद्यालयहरूमा सञ्चालित शैक्षिक गतिविधिहरूका बारेमा जानकारी गराएका थिए । सो अवसरमा मन्त्री खड्काले संस्थान तथा मातहतका महाविद्यालयहरूको अवलोकन गरेका थिए ।
वहालवाला र अवकाशप्राप्त सैनिक व्यक्तिका जेहेन्दार सन्ततीलगायत सर्वसाधारणका लागि सुलभ र गुणस्तरीय स्वास्थ्य शिक्षाको अवसर उपलब्ध गराउने उद्देश्यले मिति २०६८ सालमा स्थापित संस्थानमा हाल नेपाली सेना स्वास्थ्य विज्ञान महाविद्यालय, चिकित्सा शास्त्र महाविद्यालय र नर्सिङ्ग महाविद्यालय अन्तरगत कूल १७ सय १० विद्यार्थीहरु अध्ययनरत छन् ।
भ्रमणका अवसरमा बलाधिकृत रथी अशोकराज सिग्देल, रथीवृन्द, रक्षा मन्त्रालयका सह–सचिवलगायत नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान तथा अन्तरगत महाविद्यालयहरूका प्राध्यापक, कर्मचारी र विद्यार्थीहरुको उपस्थिति थियो । सोही अवसरमा कार्यवाहक प्रधानमन्त्री तथा रक्षा मन्त्रीले संस्थान परिसरसँगै रहेको सैनिक पुनस्र्थापना केन्द्रको पनि अवलोकन गरेका थिए ।