रोशन लामिछाने
स्याड.जा, जेठ १४
वडा प्रहरी कार्यालय वालिङ स्याङजाका प्रहरी निरीक्षक निरन्जन घिमिरेले गुण्डागर्दी शैलीमा काम गरेको स्थानीयले आरोप लगाएका छन् । निरीक्षक घिमिरेले मदिरा सेवन गरी रामबाच्छाका स्थानीयहरूलाई थर्काउने, दुःख दिने गरेको उनीहरूले गुनासो गरे । राम्बाच्छा क्षेत्रमा आइतबार बेलुकाको समयमा घिमिरेले स्थानीयलाई मदिरा सेवन गरी अभद्र व्यवहार गरेका थिए । उक्त घटनाको बारेमा अनुसन्धान भैरको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक विमलराज कडेलले जानकारी दिए । प्रहरी उपरीक्षक कडेलले प्रहरी निरीक्षक कारबाहीको दायरामा आइसकेको बताए ।
राम्बाच्छामा प्रहरी निरीक्षक घिमिरेको अभद्र व्यवहारपछि घिमिरेलाई लिन जिल्ला प्रहरी कार्यालयबाट टोली आएको थियो । जिल्ला जान नमाने पछि प्रहरी उपरिक्षक कडेल रातारात आफै वालिङ गएर घिमिरेलाई जिल्ला ल्याएका थिए । प्रहरी निरीक्षक घिमिरेलाई सोही रातीनै जिल्ला अस्पताल स्याङजामा लगि मेडिकल गराएका थिए । मेडिकल गर्दा वालिङकका प्रहरी निरीक्षक घिमिरेले मदिरा सेवान गरेको देखिएको छ । मदिरा खाएको रिपोट आएपछि त्यो (ओसी) रिपोर्ट अस्पतालमा नराखी प्रहरीले लगेको अस्पताल स्रोतले जानकारी दिएको छ ।
आफुले आइतबार राम्बाच्छा क्षेत्रमा कुनै गल्ती नगरेको वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक घिमिरेले जिकिर गरे । प्रहरी निरीक्षक घिमिरेले आफू सरकारको नियममा रही लकडाउनको बेला अरुलाई धेरै भेला भएर नबस्न आग्रह गरेको बताए । वडाका प्रहरी निरीक्षक घिमिरेले आफू राम्रो बन्न केही समयअघि वालिङका एक मासु व्यवसायीले आफूलाई फसाउन खोजेको भन्दै १५ हजारसहित अख्तियार पोखरामा बुझाएका थिए । ती व्यवसायीले प्रहरी निरीक्षक घिमिरेलाई १५ हजार दिन खोजेका थिए ।