काठमाडौँ । मकवानपुरको हेटौँडा भ्रमणमा पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० स्थित भुटनदेवी मन्दिर नजिक राजावादीहरूले ‘राजा ज्ञानेन्द्र विरविक्रम शाहदेव’ उल्लेखित स्वागतद्वार निर्माण गरेकामा सरकारले आपत्ति जनाएको छ । पछिल्लो समय देशभर विभिन्न कार्यक्रममा सहभागी हुँदै आएका पूर्वराजा आइतबार हेटौँडा पुगेका हुन् ।
यसबारे बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी पाएपछि गेट हटाउन लगाउँदा विवाद भएको थियो । राजावादीहरूले ब्यानरमा उल्लेखित ‘राजा’ शब्दअघि पूर्व’ शब्द थप्न राजी भएपछि सोही सच्याइएको बोर्ड राख्न दिइएको प्रहरीले जनाएको छ ।