काठमाडौं, जेठ १४
विश्व बैंकअन्तर्गतको आईएफसीले कोभिडबाट सिथिल नेपाली निजी क्षेत्रलाई गतिशील बनाउन आवश्यक भूमिका खेल्ने जनाएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) द्वारा आयोजना गरिएको वेबिनारमा बोल्दै आईएफसीका नेपाल, बङ्गलादेश र भुटानका लागि कन्ट्री म्यानेजर वेण्डी वर्नरले सो कुरा बताएकी हुन् । हालको कोभिडको कठिन परिस्थितिमा नेपालका निजी क्षेत्रको भूमिका र आईएफसीका आगामी कार्यक्रम शीर्षकमा बोल्दै यस्तो अवस्थामा निजी क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण हुने वर्नरले बताएकी छिन् । काभिडको सुरुवातबाट नै नेपालका पर्यटन लगायतका सेवा क्षेत्र धराशायी भएको बताउँदै यसको असर भविष्यमा पनि केही समय रहिरहने बताएकी छिन् । उनको भनाइमा आईएफसीले अन्तर्राष्ट्रिय स्तरमा निजी क्षेत्रको पार्टनरको रुपमा काम गर्दै आएको छ । नेपालमा नीजि क्षेत्रको इक्विटि लगानीकर्ताका रुपमा मात्र नभइ आइएफसीले बृहत्तर रुपमा सहयोगीको भूमिका खेल्ने जनाएकी छिन् ।
आईएफसीले विश्वव्यापी रुपमा कोभिडबाट आर्थिक क्षतिसँग जुध्न कुल ४८ मिलियन अमेरिकी डलरको प्याकेज अघि सारेको छ । यसबाट तीन सय संघ÷संस्थालाई प्रत्यक्ष रुपमा सहयोग उपलब्ध गराइरहेको छ । नेपालमा निजी क्षेत्रबाट सञ्चालित बैंक र लघुवित्त कम्पनीहरुलाई आईएफसीले सहयोग गर्दै आइरहेको छ । यस वर्ष लगायत साना तथा मध्यम व्यवसायलाई पनि सहयोग उपलब्ध गराइने वर्नरले जनाएकी छिन् । कोभिडबाट थलिएको अर्थतन्त्रमा यस्ता व्यवसायले रोजगारी सृजनामा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ । यस वर्षको अन्तिमसम्म आईएफसीको नेपालमा लगानी ०.५ अर्ब अमेरिकी डलरको लगानी पुग्ने पनि वर्नरले जनाएकी छिन् । सन् २०२३ सम्ममा आइएफसीले नेपालका निजी क्षेत्रमा १.२ अर्ब लगानीको लक्ष्य राखेको जनाइएको छ ।