काठमाडौं । नेपाली सेनाले फोटो तथा युनिट विशेष प्रदर्शन गर्ने भएको छ । सेना दिवसका अवसर पारेर सेनाले मंगलबार (माघ ९ देखि १३ गतेसम्म) देखि जङ्गी अड्डामा प्रदर्शन गर्न लागेको हो ।
प्रदर्शनीमा नेपाली सेनासम्बन्धी विगतदेखि वर्तमानसम्मका गतिविधिहरु झल्कने फोटो, हातहतियार र उपकरणहरू राखिने छ । साथै, सैनिक पोशाक, सैनिक व्याण्ड, सैनिक हवाइ सेवा, घोडचढी, जङ्गल तथा पहाडी युद्धकला, विशेष फौज, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष, शान्ति सेना, विकास निर्माण, विपद् व्यवस्थापन, खेलकुदका साथै सैनिक विद्यालयहरू लगायतको विविध गतिविधि र श्रव्यदृश्य सामग्रीहरुको प्रदर्शन हुनेछ ।
आम नागरिकलाई नेपाली सेनाका विविध गतिविधिहरू नजिकबाट नियाल्ने अवसर प्रदान गर्ने उद्देश्यले आयोजना गर्न लागिएको उक्त प्रदर्शनीमा अवलोकनकर्ताहरूलाई माघ ९ गते २ बजेदेखि ५ बजेसम्म, माघ १० देखि १३ गतेसम्म १० बजेदेखि ५ बजेसम्म नि:शुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
यस प्रदर्शनीबाट आम नागरिकका साथै विभिन्न तहमा अध्ययन गर्ने विद्यार्थीहरुलाई नेपाली सेनाका विभिन्न गतिविधिहरूको बारेमा जानकारी हासिल गर्न सहज हुने जनाइएको छ ।