वीरगञ्ज, जेठ १४
कोरोना रोगको परीक्षण तथा उपचारका लागि प्रदेश सरकारले नारायणी अस्पताललाई भीटीएम किटलगायत विभिन्न प्रकारका स्वास्थ्य उपकरण एवं खानानास्ता व्यवस्थापनको लागि २५ लाख रुपैयाँ प्रदान गरेको छ । सोमबार आयोजित एक कार्यक्रममा नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन प्रसाद उपाध्यायलाई राहत सामग्री तथा आर्थिक सहयोग प्रदान गरिएको हो । मुख्यमन्त्री लालबाबु राउत तथा प्रदेश सभासदस्यहरुले कोरोना महामारीको नियन्त्रण तथा उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताललाई उक्त स्वास्थ्य सामग्री एवं चेक हस्तान्तरण गरेका थिए ।
प्रदेश सरकारले नारायणी अस्पताललाई प्रदान गरेको स्वास्थ्य सामग्रीहरु भीटीएम ९ सय ५० थान, मास्क ४ हजार थान, सर्जिकल ग्लब्स १ हजार जोडा, डिजिटल थर्माेमिटर ३० थान, स्यानिटाइजर २५ लिटर, पीपीई३० थान, गमबुट २० थान र जनचेतना मुलक हाते पर्चा ५ सय थान रहेको छ । यसअघि प्रदेश सरकारले नारायण अस्पताललाई पीसीआर मेसिन उपलब्ध गराउँदै त्यसको सञ्चालनको लागि ५० लाख रुपैयाँ समेत उपलब्ध गराएको थियो ।