काठमाडौं । भारतको अयोध्यामा नवनिर्मित भगवान् राम मन्दिरको सोमबार प्राणप्रतिष्ठा गरिएको छ । हजारौँ क्विन्टल फूलले अयोध्या सहरलाई बेहुली जस्तै सिँगारिएको छ । पाँच सय वर्षको प्रतीक्षापछि सोमबार भगवान् श्रीराम आफ्नो भव्य र दिव्य मन्दिरमा बास गरेका छन् ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा सोमबार मध्याह्न १२ः०५ बाट सुरु भई १२ः५५ बजेसम्म अभिषेकको अनुष्ठानको कार्यक्रम चलेको थियो ।
मूर्तिको अभिषेकपछि माघ ९ गते मङ्गलबारबाट मन्दिर सर्वसाधारणका लागि खुला गरिनेछ । अरुण योगीराजले भगवान् रामको ऐतिहासिक मूर्ति बनाएका हुन् । रामललाको अयोध्यामा भएको प्राणप्रतिष्ठा कार्यक्रमको विदेशमा पनि निकै चर्चा भइरहेको छ ।
यसैगरी, भारतको अयोध्यामा नवनिर्मित भगवान् राम मन्दिरको प्राणप्रतिष्ठाको अवसरमा आज जनकपुरधामस्थित जानकी मन्दिरमा सवा लाख दीप बालिने तयारी गरिएको छ । आजको दिनलाई उत्सवको रूपमा मनाउन जनकपुरवासीलाई आग्रह गरिएको छ । राम मन्दिरको प्राणप्रतिष्ठाका अवसरमा एक लाख २५ हजार दीप बाल्नुका साथै विशेष आरती हुँदैछ ।