काठमाडौं । वित्तीय प्रणालीमा देखिएको अधिक तरलता नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले आज (मंगलबार) पनि ३० अर्ब रुपैयाँ प्रणालीबाट तान्ने भएको छ । केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण बिक्री गरी सो पैसा तान्न लागेको हो ।
१४ दिन अवधि तोकेर राष्ट्र बैंकले बोलकबोलको माध्यमद्वारा ३० अर्ब रुपैयाँबराबरको मौद्रिक उपकरण बिक्री गर्न लागेको हो । मंगलबार निष्काशन हुने निक्षेप संकलन उपकरणको साँवाब्याज भुक्तानी माघ २३ गते हुनेछ । राष्ट्र बैंकका अनुसार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले मात्रै यो मौद्रिक उपकरण किन्न सक्नेछन् ।
खरिदकर्ताले घटीमा १० करोड रुपैयाँ र बढीमा पाँच करोडले भाग गर्दा निःशेष भाग जाने गरी कुुल आह्वान रकमसम्म खरिद गर्न सक्नेछन् । राष्ट्र बैंकका अनुसार यसरी खरिद गरिएको निक्षेप संकलन उपकरण राष्ट्र बैंकबाहेकका बैंक तथा वित्तीय संस्थाहरूमा धितोको रुपमा पनि प्रयोग गर्न सकिनेछ ।