काठमाडौँ । पार्टीको राष्ट्रिय महाधिवेशनमा दस्तावेज मस्यौदासम्बन्धी छलफलका लागि नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले विधान हेरफेर गर्न यही माघ १४ र १५ गते राष्ट्रिय सम्मेलन काठमाडौँमा आह्वान गरेको छ ।
पार्टीले विधानको मस्यौदा तयार पार्न उपाध्यक्ष बेदुराम भुसालको नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको छ । उपमहासचिव जगन्नाथ खतिवडाले सम्मेलनले प्रदेश, क्षेत्र र भूगोलको सन्तुलित नेतृत्व तथा कानुनी अस्पष्टतालाई मिलाएर आवश्यक स्थानमा नेताहरूको जिम्मेवारी तोक्ने जानकारी दिए । पार्टीको पदाधिकारी, केन्द्रीय कमिटीको काम, कर्तव्य तथा अधिकारको बाँडफाँट गर्ने सम्मेलनले पार्टी नेतृत्वका लागि उमेर, कार्यकाल, सङ्गठन निर्माणमा गरेको योगदानलगायतका आधारमा मापदण्ड तय गर्ने छ ।
सम्मेलनले मस्यौदा अनुमोदन गरेपछि पार्टीले त्यसैका आधारमा आगामी जेठ पहिलो सातामा पार्टीको महाधिवेशन गर्ने छ । पार्टी सदस्यता नवीकरण तथा वितरण अभियानका रूपमा अगाडि बढाउनुका साथै जिल्लास्थित समाजवादी मोर्चाको बैठक र एजेण्डाको बारेमा समेत सम्मेलनमा छलफल हुने खतिवडाले बताए ।