काठमाडौँ, जेठ १४
नेरुडे लघुवित्त वित्तीय संस्थाको खुद मुनाफा घटेको छ । चालू आर्थिक गर्दैको तेस्रो त्रैमासिक अवधिमा चार करोड ९६ लाख ५२ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको नेरुडेको गत आवको सोही अवधिमा सात करोड ९७ लाख ४७ हजार रूपैयाँ खुुद मुनाफा कमाएको थियो । हाल चुक्ता पुँजी ४५ करोड ७२ लाख ९४ हजार रूपैयाँ रहेको संस्थाले चालू आवको तेस्रो त्रैमासिक अवधिमा दुई अर्ब २२ करोड ६१ लाख २८ हजार रूपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब ५० करोड ५५ लाख ३८ हजार रूपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा २५ करोड ६२ लाख ७८ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम चार करोड ५५ लाख ८९ हजार रूपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात दुुई दशमलव ९० प्रतिशत रहेको छ । गत आवको सोही अवधिमा संस्थाले एक अर्ब ८२ करोड ५९ लाख ३७ हजार रूपैयाँ निक्षेप संकलन गरी चार अर्ब ७८ करोड ४९ लाख ४९ हजार रूपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २७ करोड ८७ लाख ८८ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम दुुई करोड ७६ लाख ४५ हजार रूपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुुपात एक दशमलव ६८ प्रतिशत रहेको थियो ।