काठमाडौं । सामाजिक सञ्जाल फेसबुक तथा ह्वाट्सएपमार्फत महिलाको चरित्रहत्या गरेको अभियोगमा एक युवा पक्राउ परेका छन् । तारकेश्वर नगरपालिका बस्ने गोरखाका २४ वर्षीय भिमसेन भट्टलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।
रोजगारीको सिलसिलामा चिनजान भई प्रेम सम्बन्धमा रहेको र भेटघाटको क्रममा भएका क्रियाकलापको तस्विर तथा श्रव्य/दृश्य सम्पादन गरी सामाजिक सञ्जाल फेसबुक तथा ह्वाट्सएपमार्फत सम्प्रेषण गरी चरित्रहत्या गरी दुःख, हैरानी दिने गरेको भन्ने उजुरीको आधारमा भट्ट पक्राउ परेका हुन् ।
नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले प्राविधिक अनुसन्धान र विश्लेषण गर्दा भट्टको संलग्नता खुल्न आएपछि उनलाई काठमाडौंबाट पक्राउ गरेको हो । उनी उपर जिल्ला अदालत काठमाडौंबाट पाँच दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।