काठमाडौँ, जेठ १४
हङकङको ख्यातिप्राप्त केएमई रेमिटेन्स लिमिटेड र सिटी एक्सप्रेस मनि ट्रान्सफरबीच रेमिटेन्स कारोबार सुरु भएको छ । हङकङमा रहेका नेपालीहरूले केएमई रेमिटेन्सको सेवा प्रयोग गरी सिटी एक्सप्रेसमार्फत अब सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् । नेपालमा सिटी एक्सप्रेससँग आबद्ध सात हजार पाँच सयभन्दा बढी एजेन्टहरूबाट सजिलै भुक्तानी लिन सकिने, नेपालको जुनसुकै बैंकको खातामा रकम जम्मा गर्न र मोबाइल वालेटमा लोड गर्न सकिनेछ । उक्त सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनि ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र केएमई रेमिटेन्स लिमिटेडको तर्फबाट निर्देशक कबिता गुरुङले हस्ताक्षर गरेका छन् ।
एक औपचारिक समारोहका बीच हङकङबाट नेपाल पठाउने पहिलो विप्रेषण कारोबार नेपालको लागि हङकङका महावाणिज्य दूत कमलप्रसाद भट्टराईद्वारा उद्घाटन गरी रेमिटेन्स कारोबार सुरु गरिएको कम्पनीले जनाएको छ । साथै कम्पनीले नेपालमा विप्रेषण पठाउँदा एक हप्ताको लागि निःशुल्क पठाउने व्यवस्था गरिएको छ र यो व्यवस्था ३१ मे २०२० सम्म लागू जानकारी दिएको छ । सिटी एक्सप्रेसले रेमिट्यान्स क्षेत्रमा आफ्नो छु्ट्टै पहिचान बनाउँदै विगत १३ वर्षदेखि विश्वभरि आफ्ना सात हजार पाँच सयभन्दा बढी रेमिट एजेन्टहरूबाट बढी नेपालको एजेन्टहरूमार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।