वेलायत, जेठ १४
विलासी कार निर्माता बेलायती कम्पनी एस्टन मार्टिनका प्रमुख कार्यकारी एन्डी पाल्मरले पद छोड्ने भएका छन् । उनको स्थान तोबियस मोर्सले अगस्ट १ देखि लिने भएका छन् । त्यस समयसम्मका लागि केथ स्टान्सन अन्तरिम प्रमुख सञ्चालन अधिकृत रहने बीबीसीले जनाएको छ । मोर्स मर्सिडिजको सब्सिडरी कम्पनी एएमजीबाट एस्टन आएका हुन् । एएमजीमा उनी अहिले प्रमुख कार्यकारी अधिकृत छन् । कोरोना महामारी सुरु हुनुअघि देखि नै कम्पनीको अवस्था बिग्रिनथालेको थियो । भाइरस महामारीपछि कम्पनीको सेयर ९४ प्रतिशतले झरेको छ । कम्पनीले एक विज्ञप्ति जारी गर्दै प्रमुखले राजीनामा दिने जनाएको हो ।
कम्पनीका अनुसार अहिले नेतृत्व परिवर्तन गर्नु उपयुक्त बेला पनि हो । पाल्मरले भने कम्पनीमा ६ वर्षसम्म काम गर्न पाउनु आफ्ना लागि ठूलो कुरा भएको बताएका छन् । उनले व्यवस्थापन र कम्पनीका कर्मचारीलाई धन्यवाद समेत दिएका छन् । यसबाहेक व्यवस्थापनमा समेत केही निर्देशकहरु प्रिवर्तन भइसकेका छन् । निर्देशकहरु रिचार्ड सोलोमोन, इमेल्डा वाल्स र टेन्सी ह्वेलनले शनिबारदेखि पद छाडिसकेका छन् ।
नेतृत्व परिवर्तनको समाचार आएपछि कम्पनीको सेयर ४० प्रतिशतभन्दा बढीले उकालो लागेको छ । कम्पनीले चालू वर्षको पहिलो तीन महिनामा ५ सय ७८ वटा सवारीसाधन बिक्री गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको १ हजार ५७ को तुलनामा निकै कम हो । यसले कम्पनीको करअघिको घाटा ११ करोड ८९ लाख पाउन्ड स्टर्लिङ पुगेको छ । जुन १ वर्षअघि १ करोड ७३ लाख पाउन्ड थियो ।