काठमाडौं । इ–सेवाले आफ्नो १५ औँ वार्षिकोत्सवको अवसरमा १५ वटा विभिन्न अफर सार्वजनिक गरेको छ । यो अफर बिहीबारदेखि लागू भएर माघ २५ गतेसम्म सञ्चालनमा रहने कम्पनीले जनाएको छ ।
अफरअन्तर्गत इ–सेवामार्फत कुनै पनि कारोबार गर्ने एक जनाले आइफोन १५ जित्न सक्नेछन् । यसैगरी एयरलाइन्स टिकट काट्ने १५ जनाले मात्र १५ सय १५ रुपैयाँमा आन्तरिक हवाई टिकट पाउन सक्नेछन् । यस्तै, इ–सेवा केयर खरिद गर्नेमध्ये एक जनाले १५ हजार रूपैयाँ क्यासब्याक पाउनेछन् भने होटल बुकिङ गर्नेले १५ सय रूपैयाँ क्यासब्याक पाउन सकिनेछ । यस्तै मोबाइल टपअप गर्दा र बिजुलीको बिल तिर्दा १५ प्रतिशतको दरले एक सय ५० रुपैयाँसम्मको र स्कुल वा कलेजको शुल्क भुक्तानी गर्दा तीन जनाले पाँच हजार रुपैयाँसम्मको क्यासब्याक पाउन सक्नेछन् । इ–सेवाले यीलगायत विभिन्न अफरहरू सार्वजनिक गरेको छ ।
इ–सेवाबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी, मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, विभिन्न सरकारी कार्यालयहरूको शुल्क भुक्तानी, हवाईजहाज, बसको टिकट, स्कुल कलेजको शुल्कलगायतका करिब चार लाख मर्चेन्ट तथा सेवा तथा सुविधाको भुक्तानी गर्न सकिन्छ । नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २००९ मा बेटा भर्जनमा इ–सेवाको सुरुवात भएको थियो । २०१० जनवरी २५ बाट कारोबार सेवा सुरु गरेको इ–सेवा १५ वर्ष पूरा गरी १६ औँ वर्षमा प्रवेश गरेको छ । १५ औँ वार्षिक उत्सवको अवसरमा इ–सेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले आगामी दिनमा इ–सेवाको मोबाइल एपलाई आम मानिसको हरेक क्रियाकलापमा साथ दिएर सुपर एप्सको रूपमा विकास गर्ने बताए ।
१५ वर्षको अवधिमा इ–सेवा प्रयोग गर्ने प्रयोगकर्ताको संख्या ८१ लाख पुगेको कम्पनीले जनाएको छ । यसैगरी करिब दुई करोड जनसंख्याले इ–सेवामार्फत सेवा लिइरहेका छन् । हाल देशभर करिब दुई लाख ३० हजारको संख्यामा इ–सेवा एजेन्टहरू रहेका छन् । इ–सेवाले केन्द्रीय कार्यालयसहित सातै प्रदेशबाट सेवा दिइरहेको जनाएको छ । इ–सेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट बस्तीहरूमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यममार्फत धेरै सहजता ल्याएको छ । आगामी दिनमा इ–सेवाले बैंक तथा वित्तीय संस्थाहरूको सहकार्यमा वित्तीय पहुँच वृद्धि गरी प्रत्येक नेपाली नागरिकलाई नवीनतम् प्रविधि र सेवाहरू प्रदान गर्ने योजना बनाएको जनाएको छ ।