काठमाडौँ । संयुक्त राष्ट्र सङ्घको निःशस्त्रीकरण मामिलासम्बन्धी उच्चस्तरीय प्रतिनिधिमण्डलसँगको भेटका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्व शान्तिका लागि द्वन्द्वरत पक्षबीच संवाद हुनुपर्नेमा जोड दिएका छन् । उनले नेपाल सदैव विश्व शान्तिको पक्षमा रहेको बताए ।
निःशस्त्रीककरण मामिलासम्बन्धी संयुक्त राष्ट्र सङ्घको निकाय युएनओडिएका तर्फबाट उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गरेकी मिस इजुमी नाकामित्सुसहितको टोलीसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले विश्व शान्तिका लागि संवाद मात्रै एकमात्र विकल्प भएकामा जोड दिए ।
बुद्ध जन्मेको भूमि र शान्तिप्रिय देश नेपालले विश्वमा शान्ति स्थापनाका लागि विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा उल्लेख्य भूमिका खेल्दै आएको प्रधानमन्त्री दाहालले स्मरण गराए । उनले शान्ति स्थापनाका लागि संयुक्त राष्ट्र सङ्घका प्रयासमा सदैव साथ दिने र नेपालले विश्व शान्तिका लागि नेतृत्वदायी भूमिका खेल्ने बताए ।
छलफलमा निःशस्त्रीकरण मामिलाको दक्षिण एसियाली केन्द्रको कार्यालय नेपालमा स्थापना गरिएको र नेपाल दक्षिण एसियाली क्षेत्रमा शान्ति केन्द्र बन्ने अपेक्षा राखेको इजुमी नाकामित्सुले बताइन् ।
सो अवसरमा इजुमीले शान्ति मिसनमा दोस्रो योगदानकर्ता राष्ट्रका रुपमा नेपालले खेलेको भूमिकाको समेत प्रशंसा गरिन् । छलफलमा संयुक्त राष्ट्र सङ्घको नेपालस्थित आवासीय प्रतिनिधि हाना सिङ्गर, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार रुपक सापकोटा, परराष्ट्र मन्त्रालयका अधिकारीलगायतको उपस्थिति थियो ।