मोरङ । प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालय विराटनगरद्वारा शुक्रबार आयोजित आधुनिक समाजमा विधि विज्ञानको वैज्ञानिक प्रमाणको प्रयोग विषयक तीनदिने तालिमको उद्घाटन गर्दै कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले आपराधिक अनुसन्धान प्रक्रियामा नयाँ प्रविधिको प्रयोग गर्नुपर्नेमा जोड दिएका छन् ।
मुख्यमन्त्री कार्कीले प्रविधि प्रयोगमार्फत जनतालाई छिटो, छरितो र विश्वसनीय जानकारी दिनुपर्ने आवश्यकता औँल्याए । जनतालाई आपराधिक घटनाको अनुसन्धानका विषयमा सत्यतथ्यका आधारमा पारदर्शी ढङ्गले जानकारी दिन उनले निर्देशन दिए । उनले प्रदेशलाई अनुसन्धानमा पहिलो बनाउन सरकारले ऐननियम, कानुन तथा बजेटको कमी हुन दिने प्रतिबद्धता व्यक्त गरे ।
आपराधिक घटना लुकाउने कार्यको अन्त्यका लागि वैज्ञानिक प्रविधिको प्रयोग गर्नुपर्नेमा मुख्यमन्त्री कार्कीले जोड दिएका छन् । प्रदेशस्तरीय उक्त तालिममा उच्च अदालत, जिल्ला अदालत, कानुन व्यवसायी, चिकित्सक र अनुसन्धानमा संलग्न प्रहरीहरुको सहभागिता रहेको छ ।