काठमाडौँ, आइसिसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले अफगानिस्तानविरुद्धको खेलमा धारिलो बलिङ गरेको छ । दक्षिण अफ्रिकाको इष्ट लन्डनस्थित बफेलो पार्कमा टस जितेर पहिला ब्याटिङ गरिरहेको अफगानिस्तानले ४०.१ ओभरमा १० विकेट गुमाएर १सय ४५ रनमा अलआउट भयो । नेपालका लागि आकाश चन्द एक्लैले पाँच विकेट लिए,दीपेश कडेल २, गुलशन झाले १ , सुवास भण्डारी १ र तिलक भण्डारीले विकेट लिए ।
पहिलो ओभरमा गुलशन झाको चौथो बलमा नुमान शाह शून्यमा आकाश डुम्रेको हातबाट क्याच आउट हुन पुगे । यस्तै दोस्रो ओभरमा आकाश चन्दको बलमा खालिद ताइनवाल विकेटकिपर विपिन रावलको हातबाट क्याच आउट भए । त्यसपछि आकाशले लगातार थप तीन विकेट लिँए ।
जम्शिद जाद्रान १४ बलमा ३ रन बनाउँदै आकाशकै बलमा बोल्ड भए । सोहेल खानलाई पनि ४ रन तथा अली अहमदलाई शून्यमा आउट गराए । आकाशले व्यक्तिगत पाँचाँै विकेट लिने क्रममा हसन इशाखिललाई २० रनमा आउट गराए । फरिदुन दाउदजई २९ रन र एएम गजन्फरले ३७ रन बनाउन बाहेक कुनै पनि अरु व्याटरले दोहोरो रन जोड्न सकेनन् । यस खेलको विजेता टोली प्रतियोगिताको सुपर सिक्सम पुग्नेछन् । त्यस्तै पराजित हुने टोली १३औँ स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।