काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ परेका प्रहरी सहायक निरीक्षक गजेन्द्र सिंह भण्डारीलाई बिगो बमोजिम जरिवानासहित कैद सजाय माग गर्दै बिशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ । अख्यिारका प्रवक्ता नरहरि घिमिरेले आज(आइतबार) प्रेस विज्ञप्तिमार्फत भण्डारीलाई बिगोसहित कैद सजायको माग दायर गरिएको जानकारी गराएका हुन् ।
गत पुस २५ गते भण्डारीलाई सेवाग्राहीबाट आठ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो । प्रहरी चौकी खडैचा, बाँकेमा कार्यरत प्रहरी सहायक निरीक्षक भण्डारीलाई कृषि प्रयोजनको लागि ल्याएको युरिया मलसहित पक्राउ परेको मोटरसाइकल छुटाइदिने भनी घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियार सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
भण्डारीले मोटरसाइकलसहित युरिया मल नियन्त्रणमा लिई उक्त युरिया मल र मोटरसाइकल छोडी दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिएको पुष्टि भएकाले अख्तियारले उनीविरुद्ध बिगो आठ हजार रुपैयाँ कायम गरी विशेष अदालतमा बिगोसहित कैद सजायको माग दायर गरेको हो ।