काठमाडौं । वाणिज्य बैंक र फाइनान्स कम्पनीहरूको चुक्ता पुँजी बढ्दा विकास बैंकहरूको घटेको छ । राष्ट्र बैंकका अनुसार केही विकास बैंकहरू वाणिज्य बैंकमा विलय भएकाले चुक्ता पुँजी घटेको हो ।
राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पाँच महिनाको तथ्यांकअनुसार सञ्चालनमा रहेका ५४ वटा बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी चार खर्ब ३२ अर्ब ९९ करोड ७० लाख रुपैयाँ छ । यो चुक्ता पुँजी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २३ अर्ब ३७ करोड १० लाख रुपैयाँ बढी हो । गतवर्ष मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी चार खर्ब नौ अर्ब ६२ करोड ६० लाख रुपैयाँ थियो ।
चालू आर्थिक वर्षको मंसिर मसान्तसम्म वाणिज्य बैंकहरूको चुक्ता पुँजी तीन खर्ब ७७ अर्ब १२ करोड ४० लाख रुपैयाँ छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९ अर्ब ३० करोड २० लाख रुपैयाँले बढी हो । गतवर्ष मंसिरमा वाणिज्य बैंकहरूको चुक्ता पुँजी तीन खर्ब ५७ अर्ब ८२ करोड २० लाख रुपैयाँ थियो ।
विकास बैंकहरूको चुक्ता पुँजी गतवर्षको तुलनामा घटेको छ । मंसिर मसान्तसम्म विकास बैंकहरूको चुक्ता पुँजी ४० अर्ब ६५ करोड ७० लाख रुपैयाँ छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चार अर्ब १२ करोड २० लाख रुपैयाँले कम हो । गतवर्ष विकास बैंकहरूको चुक्ता पुँजी ५४ अर्ब २१ करोड ९० लाख रुपैयाँ थियो ।
फाइनान्स कम्पनीहरूको चुक्ता पुँजी गत मंसिर मसान्तमा १५ अर्ब २१ करोड ६० लाख रुपैयाँ छ । यो चुक्ता पुँजी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५१ करोड ४० लाख रुपैयाँले बढी हो । गतवर्ष मंसिरमा फाइनान्स कम्पनीहरूको चुक्ता पुँजी १४ अर्ब ७० करोड २० लाख रुपैयाँ थियो ।