वीरगञ्ज । प्रेस सेन्टर नेपालको २० औँ स्थापना दिवस तथा राष्ट्रिय परिषद् बैठकलाई सोमबार वीरगञ्जमा सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लामो समयदेखि बन्द रहेका उद्योगहरु सञ्चालन गरिने तयारी भइरहेको बताएका छन् ।
प्रधानमन्त्री दाहालले लामो समयदेखि बन्द रहेका बिराटनगर जुट मिल, हेटौडा कपडा उद्योग, गोरखकाली रबर उद्योग र बुटबल धागो उद्योग सञ्चालन गर्ने गरी काम अघि बढाइएको बताए । कतिपय उद्योगहरु नेपाली सेनाले सञ्चालन गर्ने छ भने कतिपय निजी कम्पनीले चलाउने गरी तयारी भइरहेको उनले बताए । उनले अबको एक हप्ता वा १० दिन भित्रमा बन्द उद्योग सञ्चालन हुने कुरा जनताले थाहा पाउने बताए ।
प्रधानमन्त्री दाहालले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटलाई जनमुखी, जनता केन्द्रित बनाउने स्पष्ट पार्दै जनता र सबै राजनीतिक दलको सामूहिक सहभागितामा बजेट निर्माण गर्न सरकार केन्द्रित भएको उल्लेख गर्रे ।
प्रधानमन्त्री प्रचण्डले लोकतन्त्रको पक्षमा बजेट निर्माण गरेर ‘आमुल सुधार’ गरिने विश्वास दिलाए । नीति तथा कार्यक्रम बनाउँदा स्थानीय र प्रदेश सरकार एवं मन्त्रालयहरूको पनि रायसुझाव लिएर अब नयाँ तबरले सरकार अगाडि बढ्ने बताए । उनले आवश्यक योजना बनाएर बजेट निर्माण गर्नेगरी सरकार अगाडि बढेको बताए ।
प्रधानमन्त्रीले सामाजिक सुरक्षा कोषमा अनौपचारिक क्षेत्र, स्वरोजगारी तथा वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेट्ने महत्वपूर्ण कार्य सरकारले गरेको भन्दै सरकारले भ्रष्टाचार, भूमाफिया र मिटरब्याजविरुद्ध सशक्त कदम चालेको जानकारी दिए । सेन्टरको २०औँ स्थापना दिवसको अवसरमा सोमबार बिहान वीरगञ्जस्थित घण्टाघर चोकदेखि कार्यक्रमस्थल नगरसभा हलसम्म प्रभातफेरि आयोजना गरिएको थियो ।