काठमाडौं । लक्ष्मी टेक्नो प्लास्ट लिमिटेडले साधारण सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरका १४ लाख कित्ताले हुन आउने १४ करोड रुपैयाँ बराबरको साधारण सेयरमा अंकित मूल्यमा प्रिमियम रकम थप गरी साधारण सेयर जारी गर्न लागेको हो ।
कम्पनीले उक्त कार्य गर्नका लागि नेपाल एसबीआई मर्चेण्ट बैंकिङ लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ । लक्ष्मी टेक्नो प्लास्टका प्रबन्ध निर्देशक अञ्जनी नन्दन मारु र नेपाल एसबीआई मर्चेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । लक्ष्मी टेक्नो प्लास्ट विसं २०७२ असोज १८ गते प्राइभेट कम्पनी लिमिटेडको रूपमा स्थापित भई कम्पनी ऐन, २०६३ बमोजिम पब्लिक लिमिटेड कम्पनीमा परिणत भएको हो । कम्पनीले प्लास्टिकजन्य सामग्री सीपीभीसी÷पीभीसी पाइप्स तथा फिटिङ्स, प्लास्टिक फर्निचरहरू, प्लास्टिकको पानी ट्याङ्की, औद्योगिक तथा घरायसी प्रयोजनका प्लास्टिकका बाल्टिनहरू, प्लास्टिकजन्य घरेलु उत्पादनहरूजस्तै डस्टबिन, एयर टाइट जार, साबुन बार बक्स, फ्रिज स्ट्यान्ड, मेलामाइन टेबल वेयर (प्लास्टिकका थाल, कचौरा, चम्चा)लगायतका सामग्री उत्पादन गर्ने गरेको छ ।
साथै, कम्पनीले सीपीभीसी÷पीभीसी पाइप र फिटिङ्सका लागि मुख्यतया ओम शिवम् पाइप्स एण्ड फिटिङ्स नामको तथा फर्निचर र अन्य घरेलु सामग्रीको लागि मेरिगोल्ड नामको ब्रान्डमा देशव्यापीरूपमा आधिकारिक वितरकहरूमार्फत आफ्नो उत्पादनको बिक्री वितरण गर्दै आएको जनाएको छ ।