काठमाडौँ । शहीद दिवसका अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गरी मुलुकमा विकास तथा समृद्धि कायम गर्नुपर्ने बताएका छन् । उनले लोकतान्त्रिक पद्धतिबाट जनताको स्वतन्त्रता, सामाजिक न्याय र समानता कायम गर्दै विद्यमान विसङ्गतिहरूको अन्त्य गर्न सकिन्छ भने ।
अध्यक्ष नेपालले देशमा निरंकुशताको अन्त्य गरी लोकतान्त्रिक व्यवस्था स्थापनाका लागि शहीदले जीवनको उत्सर्ग गरेको उल्लेख गर्दै लोकतन्त्रको विशेषताका रूपमा रहेको समतामूलक र न्यायमूलक समाज स्थापना गरी समाजवादको कार्यभार पूरा गर्न सकिने विश्वास व्यक्त गरे । उनले मुलुकमा लोकतन्त्र स्थापनाका लागि शहीदले देखाएको त्यागको निष्ठा र आदर्शलाई पूरा गर्न आर्थिक तथा सामाजिक रुपान्तरणका माध्यमबाट सबै जनतालाई सुखी र समृद्ध बनाउनुपर्नेमा जोड दिए ।