महेन्द्र शाही
सोलुखुम्ब, जेठ १५
निरन्तरको वर्षापछि आएको हावाहुरीले मकैको बोट नष्ट गरेपछि सोलुखुम्बुका कृषक चिन्तित बनेका छन् । पाक्न लागेको मकैको बोट हावाहुरीसहितको पानी ढालेर सोत्तर बनाए पनि कृषक चिन्तित बनेका हुन् । मंगलबार दिउसोदेखि नै ठूलो हावाहुरी चलेको थियो । जिल्लाको विभिन्न क्षेत्रमा यसले ठूलो क्षेति पु-याएको बताइएको छ । जसले गर्दा उत्पादनमा गिरावट आउने किसानको भनाइ छ ।
हावाहुरीले जिल्लाको केरुङ, तामाखानी, गोराखानी, भित्ताखर्क, नेले, गार्मा, तिङ्ला, सोताङको नाम्लुङ, गोरा, टाप्टिङ, लिखुपिकेसहित खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालीका र लिङचुङबुङ गाउँपालीका क्षेत्रमा लगाइएको मकै बालीमा क्षति पुगेको स्थानीयले बताएका छन् । वर्षभरि खान पुग्ने गरी लगाएको मकैमा प्राकृतिक विपत्तिको चपेटामा परेपछि कृषकहरू निराश बनेका तामाखानीका कृषक मनिश रेग्मी मगरले बताए । हावाहुरी र वर्षाले कृषकलाई ठूलो क्षति पु-याएको अर्का कृषक अम्बरबहादुर विश्वकर्माले जानकारी दिए । अघिल्लो वर्ष पनि हावाहुरीले मकै बालीमा क्षेति पु-याएको थियो ।
जिल्लाको माथिल्लो क्षेत्रका कृषकहरूको मुख्य बालीको रूपमा रहेको मकै सोत्तर बनेर चौपायालाई खुवाउनुपरेपछि उनीहरूलाई वर्षभरि खाने अन्नको चिन्ता परेको छ । हावाको बेगका कारण अधिकांश मकैको बोट ढलेर चौर जस्तै बनेको छ । हावाहुरीले कति क्षेत्रफलमा लगाएको मकैमा क्षति पुग्यो भन्ने विषय एकिन तथ्याङ्क आउन नसकेको कृति ज्ञान केन्द्र सोलुखुम्बुले जनाएको छ । क्षति पूर्ण विवरण कहीँ दिन आउने ज्ञानकेन्द्रले जनाएको छ ।