काठमाडौँ । नेपाल टेलिभिजनको ३९औँ वार्षिकोत्सवका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले पूर्ण प्रेस स्वतन्त्रतालाई संरक्षण गर्दै पत्रकारिता क्षेत्रलाई थप विकसित, व्यावसायिक र समृद्ध बनाउन वर्तमान सरकार प्रतिबद्ध रहेको बताएकी छिन् ।
मन्त्री शर्माले नेपाल टेलिभिजन र रेडियो नेपाललाई एकीकरण गरी थप स्वतन्त्र, स्वायत्त र जनउत्तरदायी सार्वजनिक प्रसारणका रुपमा विकास गरिने बताइन् । उनले सरकारी सञ्चारमाध्यम सरकारी सूचना सन्देश प्रकाशन/प्रसारण गर्ने एकोहोरो प्रचारक मात्र नभइ राज्यका सूचना, सन्देश र कार्य जनताको बीचमा लैजाने र जनताको आवाज र अपेक्षा राज्यसम्म पुर्याउने दोहोरो माध्यमका रुपमा रहेका बताइन् ।
उनले आमसञ्चार नीति, २०७३ र सङ्घीय संरचना तथा अभ्यासबाट विकसित परिवेशअनुसार प्रदेश र स्थानीय तहलाई पनि बलियो बनाउने गरी आमसञ्चारको क्षेत्रमा नीति र कानुन निर्माणमा जोड दिइएको बताइन् । आमसञ्चार क्षेत्रको पुनःसंरचनालाई ध्यानमा राखेर नीतिगत तथा कानुनी व्यवस्थाबारे सुझाव दिन आमसञ्चार क्षेत्र सुधार सुझाव समिति गठन गरिएको र सो समितिको प्रतिवेदनलाई मुख्य आधार बनाइ नेपाल मिडिया काउन्सिल विधेयक र आम सञ्चार विधेयक तयार पारिएको उनको भनाइ थियो ।
मन्त्री शर्माले नेपाल टेलिभिजनको समय सापेक्ष विकास, विस्तार एवं रुपान्तरणमा सरकार सदैव तत्पर रहेको जानकारी दिँदै चार दशक लामो गौरवपूर्ण इतिहास बोकेको नेपाल टेलिभिजन आगामी दिनमा अझ सुदृढ र लोकप्रिय प्रसारण माध्यमका रुपमा स्थापित हुन सकोस् भनी कामना गरिन ।
जनमानसलाई सुसूचित गर्दै जिम्मेवार पत्रकारिता गर्नु नेपाल टेलिभिजनको जिम्मेवारी भएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले उल्लखे गरे । उनले संविधानले अङ्गीकार गरेको समावेशीतालाई साकार पार्न टेलिभिजन क्रियाशील हुनुपर्नेमा जोड दिए । कार्यक्रममा लामो समयसम्म अविछिन्न सेवा गर्ने कर्मचारीलाई दीर्घ सेवा पदक प्रदान गरिएको थियो ।