काठमाडौं । प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति भएका रमेश कुमार बस्नेतलाई प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले दज्र्यानी चिन्ह प्रदान गरेका छन् । महानिरीक्षक कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा आज(बुधबार) आयोजित एक समारोहबीच उनलाई दज्र्यानी चिन्ह प्रदान गरेका हुन् ।
सोही अवसरमा प्रहरी महानिरीक्षक कुँवरले ‘प्रहरी साथमा छ’ बोलको अपराध न्यूनीकरणसम्बन्धी जनचेतनामूलक म्युजिक भिडियोको समेत विमोचन गरे । उक्त म्युजिक भिडियोको परिकल्पना प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले गरेका हुन् भने रचनाकार दिल शिरिष र प्रकाश सपूत रहेका छन् । प्रकाश सपूत र सुदिप सागरको संगीत तथा प्रकाश सपूत र सुनिता दुलालको गायन रहेको उक्त म्युजिक भिडियोको निर्देशन आरन प्रोडक्सनबाट सुनिल बिकले गरेका हुन् ।
सोही अवसरमा महानिरीक्षक कुँवरले नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागद्वारा प्रकाशित ‘नेपाल प्रहरीले अनुसन्धान गरेका चर्चित घटनाहरूको सङ्ग्रह–भाग १’ पुस्तकको विमोचन समेत गरे । उक्त पुस्तकमा रहेका घटनाहरूको संकलन तथा लेखन प्रहरी नायव उपरीक्षकहरू रबिन्द्र नाथ पौडेल, बेद प्रकाश जोशी, पंच कुमार बाखु र प्रहरी निरीक्षक राजु अधिकारीले गरेका हुन् ।
साथै, महानिरीक्षक कुँवरले पुस्तक लेखनमा संलग्न प्रहरी अधिकृतहरूलाई सोही अवसरमा सम्मान समेत गरे । समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू एवं प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।