काठमाडौं । छ वर्षयता १२ हजारभन्दा बढी विदेशी श्रमिकले नेपालमा काम गर्न श्रम इजाजत लिएका छन् । श्रम तथा व्यवसायजन्य विभागका अनुसार सन् २०१७ देखि अहिलेसम्म १२ हजार चार सय १३ जना विदेशी श्रमिकले नेपालमा काम गर्न श्रम स्वीकृति लिएका छन् । जसमध्ये सात हजार आठ सय ९० जनाले नयाँ श्रम स्वीकृति र चार हजार पाँच सय २३ जनाले श्रम स्वीकृति नवीकरण गरेका हुन् ।
बाध्यकारी व्यवस्थाका कारण दक्ष विदेशी श्रमिक अनिवार्यरूपमा श्रम स्वीकृति लिई नेपालमा काम गर्दै आएका छन् । नेपाल आउने विदेशी श्रमिकहरूमध्ये महिलाको तुलनामा पुरुषको संख्या बढी रहेको विभागमा प्रवक्ता मणिनाथ गोपले जानकारी दिए । उनले नयाँ श्रम स्वीकृति र श्रम स्वीकृति नवीकरण गर्नेहरूमा पुरुषको संख्या ज्यादै ठूलो रहेको बताए । समीक्षा अवधिमा नयाँ श्रम स्वीकृति लिने सात हजार आठ सय ९० जना विदेशी श्रमिकमध्ये सात हजार ९२ जना पुरुष र सात सय ९८ जना महिला छन् । साथै श्रम स्वीकृति नवीकरण गर्ने चार हजार पाँच सय २३ जना विदेशी श्रमिकमध्ये तीन हजार आठ सय ८१ जना पुरुष र छ सय ४२ जना महिला छन् ।
खासगरी विभिन्न विदेशी लगानीका आयोजना र स्वदेश तथा विदेशी लगानीका आयोजनामा उपलब्ध नभएका जनशक्ति विदेशबाट ल्याइने संस्कृति हुँदा नेपालमा विदेशी श्रमिक निरन्तर आएका हुन् । परियोजनाले आफ्नो आवश्यकताअनुरूप विश्वबजारमा दक्ष जनशक्तिको लागि विज्ञापन गर्दछ, नेपाल आउन रुचि देखाउनेले सोहीअनुरूप तयारी गरेर यहाँ आउने गरेको प्रवक्ता गोपको भनाइ छ । विशेषगरी जलविद्युत्, नागरिक उड्डयन, स्वास्थ्यलगायतका क्षेत्रका लागि आवश्यक जनशक्तिको विज्ञापन गर्ने तथा योजना सञ्चालकहरूले उनीहरूलाई ल्याउने गरेको पाइन्छ । साथै नेपालमा सञ्चालन भएका कतिपय परियोजना विदेशी लगानीका हुने हुँदा ती परियोजनाहरूमा विदेशी लगानीकर्ताहरूले आफ्नो मुलुकबाट दक्ष जनशक्ति नेपाल झिकाउने गरेको पाइन्छ । श्रम ऐन, २०४८ को व्यवस्थाअनुरूप दक्ष गैरनेपाली नागरिक मात्र काम गर्नका लागि नेपाल आउन पाउनेछन् । चालू आर्थिक वर्ष २०८०/८१ को पुसमा मात्र नयाँ श्रम स्वीकृति लिने ६४ जना र श्रम स्वीकृति नवीकरण गर्ने एक सय १८ जना विदेशी श्रमिक रहेको विभागले जनाएको छ । जसले गर्दा हरेक महिना दक्ष विदेशी श्रमिक आउने र श्रम स्वीकृति नवीकरण गर्ने गैरनेपाली नागरिकको संख्या निरन्तरता पाउने गरेको विभागका अधिकारीहरू बताउँछन् ।
विदेशी श्रमिकहरू अनिवार्य श्रम स्वीकृति तथा श्रम स्वीकृति नवीकरण गरी नेपालमा काम गरेर बस्न पाउने कानुनी व्यवस्था गरिएको छ । अर्कोतर्फ बाध्यकारी व्यवस्थाका कारण दक्ष विदेशी कामदार मात्र नेपाल आएको विभागले जनाएको छ । श्रम ऐन २०४८ (संशोधन २०५४) ले दक्ष गैरनेपाली नागरिकलाई श्रम इजाजत दिने व्यवस्था गरेको छ । श्रम ऐन, २०४८ को दफा ४ (क) मा कुनै दक्ष प्राविधिक पदका लागि नेपाली नागरिक उपलब्ध नभएमा व्यवस्थापकले सो कुराको प्रमाणसहित गैरनेपाली नागरिक नियुक्ति गर्ने स्वीकृतिको लागि श्रम विभागमा निवेदन दिन सक्ने व्यवस्था गरिएको छ । दक्ष प्राविधिक पदको लागि नेपाली नागरिक उपलब्ध नहुने देखिएमा श्रम विभागले श्रम कार्यालयको सिफारिसमा एक पटकमा दुई वर्षमा नबढाई बढीमा पाँच वर्षसम्म र विशिष्ट प्रकारका दक्ष प्राविधिक पदमा बढीमा सात वर्षसम्म गैरनेपाली नागरिकलाई काममा लगाउन स्वीकृति दिन सक्नेछ । गैरनेपाली नागरिकलाई काममा लगाउने व्यस्थापकले नेपाली नागरिकलाई नै दक्ष बनाई क्रमशः प्रतिस्थापन गर्ने व्यवस्था गर्नु पर्दछ । जसले गर्दा उनीहरू दक्ष हुनुको साथै नेपाली नागरिकलाई आफ्नो दक्षता समेत प्रदान गर्नुपर्नेछ ।
यस्तै पाँच दर्जनभन्दा बढी मुलुकबाट गैरनेपाली नागरिक नेपाल आउनेगरेका छन् । विशेषगरी सीमा जोडिएका चीन र भारतपछि विकसित मुलुकका दक्ष श्रमिकहरू समेत नेपाल आउन रुचि देखाउँछन् । विभागले उपलब्ध गराएको तथ्यांकअनुरूप नेपालमा चीन–भारत, जापानदेखि जर्मनी, अमेरिका, केनियालगायत करिब अधिकांश महादेशबाट काम गर्नका लागि विदेशी श्रमिक आउने गरेको छन् । छ वर्षको अवधिमा सबैभन्दा धेरै संख्यामा चिनियाँ र बेलायती श्रमिक रहेको देखिन्छ । सो अवधिमा आठ हजार चार सय २० जना चिनियाँ र पाँच सय ५२ जना बेलायती, तीन सय ९९ जना अमेरिकी, दुई सय ५१ जना भारतीय, दुई सय ९३ जना दक्षिण कोरियाली, दुई सय ५१ जना जापानिज, एक सय ३६ जना अष्ट्रेलियन, एक सय ३० जना श्रीलंकन, एक सय १० जना जर्मनी, ८५ जना इटलियन, ८७ जना फ्रान्सेली, ९२ जना फिलिपीनी र ४२ जना स्पेनी दक्ष कामदार यहाँ कार्यरत छन् । नाइजेरिएन ४९ जना, भनेजुयला सात जना, युगान्डा तीन जना, सर्बिया चार जना दक्ष कामदार यहाँ कार्यरत छन् । पछिल्लो सयम नेपाल आउनेमा अष्ट्रेलियन, अमेरिकन, दक्षिण कोरियाली, भारतीय दक्ष श्रमिकको संख्या बढेको विभागले जनाएको छ ।
चिनियाँ सहयोगको परियोजना सञ्चालन भएको हुँदा चिनियाँ नागरिकको संख्या बढी भएको बताइएको छ । बेलायती, अमेरिकी, भारतीय नागरिक भने लामो समयदेखि यहाँ कार्यरत हुँदा श्रम स्वीकृति नवीकरण गरी कार्यरत भई बसेको पाइन्छ । विदेशी श्रमिकको संख्या बढ्दा यसको आपूर्तिकर्ता समेत बढ्दै गएको विभागले जनाएको छ । विभागका अनुसार हालसम्म चार सय ३१ वटा आपूर्तिकर्ता संस्था रहेका छन् । जसमा २० वटा नयाँ र एक सय ८३ वटा पुराना (नवीकरण) संस्थाहरू हुन् । ती संस्थाहरूले विदेशी श्रमिक ल्याउनका लागि सहजीकरणका साथै श्रम स्वीकृति, टिकट व्यवस्थापनलगायतका काम गर्दै आएका छन् । मुलुकको उद्योग, प्रतिष्ठान, व्यापारलगायतका क्षेत्रको उत्पादकत्व अभिवृद्धि गर्न सहयोग पु¥याउने उद्देश्यले विदेशी श्रमिकलाई श्रम स्वीकृति दिँदै आएको पाइन्छ ।