काठमाडौं । सिजी होल्डिंसका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरी पक्राउ परेपछि निजी उद्योगीहरु आन्दोलित भएका छन् । महाराजगञ्जस्थित बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा गैरकानुनी तरिकाले निजीकरण गरेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आज(बिहिबार) चौधरीलाई पक्राउ गरेको थियो ।
चौधरीलाई सीआईबीले हठात् रुपमा पक्राउ गरेको भन्दै संयुक्त निजी क्षेत्रको आयोजनामा नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा आज साँझ पत्रकार सम्मेलन गरिएको छ । उनीहरुले चौधरीमाथि मानमर्दन हुनेगरी धरपकडका साथ पक्राउ गरेको भन्दै निजी क्षेत्रले आफ्नो विस्तृत धारणा सार्वजनिक गर्न उक्त पत्रकार सम्मेलन गरेको जनाएको छ । निजी क्षेत्रले पक्राउको घोर आपत्तिसहित अब विरोधको कार्यक्रम गर्ने जनाएको छ ।
उक्त पत्रकार सम्मेलनमा राजेश कुमार अग्रवाल (नेपाल उद्योग परिसंघ अध्यक्ष), गणेश कार्की (इप्पानका अध्यक्ष), निराकार श्रेष्ठ (नाराका अध्यक्ष), अन्य उद्योगी व्यवसायी लगायत करिब ४० जनाको उपस्थित रहेको थियो ।