काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसमी प्रणाली कमजोर रहेकाले अबको दुई दिन मौसम सामान्यतया सफा रहने छ । शुक्रबार र शनिबार मौसममा सुधार रहे पनि आगामी आइतबारदेखि देशको पश्चिम भेगबाट पश्चिमी वायुको सक्रियता बढ्ने भएकाले केही दिन मौसममा गडबडी हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौमसविद गोविन्दकुमार झाले जानकारी गराए ।
बिहीबार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही भू–भागमा तथा बागमती र कोशी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा फाटफुटदेखि हल्का वर्षा भएको थियो । पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणालीका कारण देशका अधिकांश स्थानमा बदली हुनाका साथै उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपात भएको छ ।
काठमाडौँमा शून्य दशमलव पाँच मिलिमिटर वर्षा महाशाखाको पछिल्लो विवरणमा मापन गरिएको छ । त्यसैगरी, डढेलधुरामा १४ दशमलव आठ, दिपायलमा १२ तथा जुम्लामा दुई दशमलव ६ मिलिमिटर वर्षा भएको छ । काठमाडौँको शुक्रबारको न्यूनतम तापक्रम चार दशमलव आठ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम १७ दशमलव आठ डिग्री सेल्सियस रहेको छ ।
अहिले देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सफा रहेको महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा जनाइएको छ । तराईका थोरै स्थानमा हुस्सु लागेको छ । दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ ।
कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावनाका साथै कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थान तथा बाँकी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।