काठमाडौं । अर्थ मन्त्रालयले आन्तरिक राजस्व विभागका महानिर्देशकमा भुपाल बराललाई ल्याएको छ । यसअघिका विभागको महानिर्देशक दीर्घ मैनालीलाई हटाएर अर्थकै संस्थान समन्वय तथा वित्तीय क्षेत्र व्यवस्थापन महाशाखा प्रमुख बराललाई महानिर्देशकको जिम्मेवारी दिएको हो । मैनालीलाई भने अर्थले सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको प्रमुख बनाएको छ ।
मैनालीलाई तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले २०७९ मंसिरमा आन्तरिक राजस्व विभागको प्रमुख बनाएका थिए । राजस्व संकलनमा उनको भूमिका प्रभावकारी नभएको भन्दै अर्थले मैनालीलाई हटाएको हो । बराल अर्थमन्त्री डा प्रकाशशरण महत नजिकका हुन् ।
अर्थको संस्थान समन्वय महाशाखाको जिम्मेवारी भने नारायण रिजाललाई दिइएको छ । टोकराज पाण्डेलाई अर्थ मन्त्रालयको प्रशासन महाशाखाको जिम्मा दिइएको छ । उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय प्रमुख थिए । विभानस्थल भन्सार प्रमुखको जिम्मेवारी सेवन्तक पोखरेललाई दिइएको छ । प्रशासन महाशाखा प्रमुख महेश आचार्यलाई आर्थिक नीति विश्लेषण महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ । टंक पाण्डेलाई भन्सार विभागको उपमहानिर्देशक बनाइएको छ । उनलाई आन्तरिक राजस्व विभागका उपमहानिर्देशकबाट भन्सार विभाग लगिएको हो ।