काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरणमा दोषी ठहर भएका पूर्वसांसद एवं व्यवसायी इच्छाराज तामाङलाई तीन वर्ष कैद र एक अर्ब ७२ करोड ४४ लाख ५९ हजार रुपैयाँ जरिबाना तोकेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले आइतबार तामाङको सजाय निर्धारण गरेको हो ।
सिभिल सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका तामाङलाई यही माघ ७ गते अदालतले दोषी ठहर गरेको थियो । विशेष अदालतले तामाङकी श्रीमती सृृजना शाक्य तामाङलाई एक वर्ष छ महिना कैद र एक अर्ब तीन करोड ५४ लाख ४३ हजार चार सय ८७ रुपैयाँ जरिबाना निर्धारण गरेको छ ।
सोही मुद्दामा अदालतले इच्छाराजका मामाससुरा केशवलाल श्रेष्ठले एक वर्ष छ महिना कैद र २५ करोड ६५ लाख ८६ हजार एक सय २४ बिगो तिर्नुपर्ने फैसला गरेको छ ।
अदालतले इच्छाराज तामाङ, सृृजना शाक्य तामाङ, केशवलाल श्रेष्ठ, केशवलालकी श्रीमती मीना श्रेष्ठ, र इच्छाराजका छोरीहरू प्रतीक्षा तामाङ र प्रतिष्ठा तामाङको नाममा रहेको सम्पत्ति जफत हुने फैसला पनि गरेको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सिभिल सहकारी संस्थाका पूर्वअध्यक्ष तामाङसहित निजको परिवारका छ जनाविरुद्ध २०७९ साल भदौ १६ गते मुद्दा दायर गरेको थियो ।