डडेल्धुरा । जिल्लाको अमरगढी–१ मा गएराति आगो ताप्ने क्रममा निसास्सिएर सासू बुहारी दुई जनाको मृत्यु भएको छ । चिसो छल्न एउटै कोठामा सुतेका सासू र बुहारीले आगो बालेका थिए । सोही आगोको कोइलाका कारण निसास्सिएर मृत्यु भएको अनुमान गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कुसुम नायकले मृत्यु हुनेमा अमरगढी नगरपालिका–१ मालम बस्ने ६० वर्षीया धौलीदेवी दियाल र २६ वर्षीया पुनम दियाल रहेको जानकारी दिइन् । बेहोस अवस्थामा फेला परेका दुवैलाई घरपरिवार र आफन्तको सहयोगमा सोमबार बिहान अस्पताल पुर्याउदा चिकित्सकले मृत घोषणा गरेका थिए । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।