काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले जीतपुरसिमरा ०१ पथलैयामा अवस्थित जेष्ठ नागरिक सम्मान वृद्धाश्रमलाई सहयोग प्रदान गरेको छ । ज्येष्ठ नागरिकहरूलाई आश्रय दिइरहेको सो आश्रमलाई सिटिजन्स बैंकले करिब तीन महिनालाई पुग्ने बराबरको दैनिक उपभोग्य खाद्यान्न सामग्रीलगायत अन्य सामग्री उपलब्ध गराएको हो ।
विभिन्न दाताबाट प्राप्त सहयोगबाट वृद्धाश्रम सञ्चालन भइरहेको छ । वृद्धाश्रममा बिहीबार आयोजित एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोगस्वरूप सामग्रीहरू हस्तान्तरण गरेका हुन् । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पोखरेलले ज्येष्ठ नागरिकहरू समाजका एक अभिन्न अंग रहेको र उनीहरूलाई सहयोग प्रदान गर्न पाउँदा गौरवान्वित महसुस गरेको बताए । आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिकजस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना रहेको कुरा जानकारी गराएको छ ।