काठमाडौं । वैदेशिक रोजगारीको लागि युरोप पठाईदिन्छु भन्दै ५५ जनासँग रकम ठगी गर्ने दुई जना पक्राउ परेका छन् । ६३ लाख रूपैयाँ ठगी गरेको अभियोगमा दुई जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा ललितपुर नख्खु बस्नेहरू सर्लाही हरिवन नगरपालिका घर भएका सरोज यादव/नागेन्द्र यादव नाम बताउने ३५ वर्षीय रामेश्वर सिंह र धनुषा मिथिला नगरपालिका नक्टाजिच घर भएका सरोज यादव नाम बताउने २७ वर्षीय राम सेवक सिंह रहेका छन् । उनीहरूले ५५ जनालाई युरोप पठाई प्रतिष्ठित कम्पनीमा मासिक एक लाख ५५ हजार रूपैयाँ तलबमा काम लगाईदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक पटक गरी उक्त रकम ठगी गरेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको रामेश्वर सिंह २०७४ सालमा भेरी ओभरसिस संचालन गर्दा दुई सय जनालाई तीन करोड ठगी गरेकोमा एक वर्ष ६ महिना जेल बसेर निस्केको खुल्न आएको छ । त्यस्तै, सरोज यादव, नागेन्द्र यादव र गुरूदेव यादवको नागरिकताको प्रमाणपत्रमा आफ्नो ज्वाई नाता पर्ने रामसेवक सिंहको फोटो टाँसी कन्सलटेन्सी दर्ता गरी ४८ जनाबाट विदेश पठाउने भन्दै प्रतिव्यक्ति सात लाख रूपैयाँसम्म उठाएको र रामेश्वर सिंहले राम सेवक सिंहको फोटो टाँसी उल्लेखित व्यक्तिको नागरिकता दुरूपयोग गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ । प्रहरीले उनीहरूको साथबाट विभिन्न व्यक्तिको नाममा काटिएको ६० लाख रूपैयाँ बराबरको २५ थान चेक र सिम कार्ड नौ थान बरामद गरेको छ । प्रहरीका अनुसार उनीहरू उपर ठगी, कीर्ते, जालसाजी, बैकिङ कसुर लगायतका मुद्दामा थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ ।