मोरङ । भारतीय नम्बर प्लेटको स्करपियो गाडीमा हजार दरका करिब दुई करोड नक्कली नोटसहित एक भारतीय युवा पक्राउ परेका छन् । सुनसरीबाट प्रहरीले एक हजार दरका एक करोड ८२ लाख ५१ हजार नक्कली नोट बरामद गरेको हो । प्रहरीका अनुसार आइतबार भारतीय गाडीमा राखेर ल्याउँदै गरेको अवस्थामा इनरुवा नगरपालिका–४ स्थित सुनसरी खोलाको पुलनजिकबाट नक्कली नोट बरामद भएको हो । सवारीसाधन चेकजाँचमा खटिएको ट्राफिक प्रहरीको टोलीले बीआर ११ एक्स ३४२९ नम्बरको स्कोरपियो गाडी रोकेको थियो । शंकास्पद अवस्थाको स्कोरपियो गाडीमा खानतलासी गर्दा पछाडिको भागमा लुकाइछिपाइ ल्याइएको नक्कली नोटहरु बरामद भएको हो । बोराभित्र झोलामा राखेर ल्याइएको अवस्थामा नक्कली नोट फेला परेको प्रहरीले बताएको छ । उक्त नक्कली नोटसँगै गाडी चालक भारत वीरपुरका २२ वर्षीय मोहमद सैयद पनि पक्राउ परेका छन् । गाडीमा सवार अर्का व्यक्ति भने फरार छन् । गाडी भारतबाटै आएको देखिएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार यस सम्बन्धमा आवश्यक अनुसन्धान भइराखेको छ ।